Sorry, that menu does not exist.
 

पर्वतको कुश्मामा युवा महिलाहरुका लागि सहकारी व्यवस्थापन तालिम

पर्वत, २०७४ फागुन २५ । युवा महिलाहरुलाई सहकारी मार्फत आत्मनिर्भर गराउने उदेश्यका साथ पर्वतको कुश्मामा सहकारीमा आवद्ध भएका र हुने तयारीमा रहेका युवा महिला सदस्यहरुका लागि सहकारी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ ।

२ दिनसम्म सञ्चालन हुने तालिममा पर्वतको फलेवास नगरपालिका, कुश्मा नगरपालिका र व्यादी गाउँपालिका र पैयु गाउँपालिकाका विभिन्न समुह र सहकारी संस्थामा आवद्ध १६ देखि ३५ वर्ष उमेर समुहका २० जना युवा महिलाहरुको सहभागिता रहेको छ ।

आयआर्जन बढाउन, त्यसबाट प्राप्त भएको पैसालाई वचत गर्न तथा समन्वय गरेर एक आपसमा सहयोगी भावनाको विकास गर्दै नेतृृत्व विकास, क्षमता विकास र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारी उपयुक्त देखिएकाले युवा महिलाहरुलाई सहकारीमा आवद्ध गराउने अभियान सञ्चालन गरिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक टुकप्रसाद शर्माले जानकारी दिए ।

महिलाहरुसग भएको श्रम, शीप र पूँजिलाई परिचालन गरी थप आयआर्जनका लागि सहकारी माध्यम उपयुक्त भएकाले युवा उमेरका महिलाहरुलाई सहकारीमा आवद्ध गराउने कार्य सह्रानिय भएको तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बताए ।

उनले सानो सानो पूँजि जम्मा गरेर ठुला ठुला काम गर्न सकिने भएकाले सहकारी संघ संस्थाबाट कर्जा लिएर आयआर्जनका विभिन्न काम गरी आम्दानी बढाउन, आम्दानी भएको रकम पहिला वचत गरी खर्च गर्न, सामुहिक रुपमा काम गरी खर्च कम गर्न तथा आयआर्जनका लागि नयाँ सोच र प्रविधि बारे जानकारी लिनका लागि सहकारी संस्थामा आवद्ध हुन जरुरी रहेको बताए ।

विभिन्न समुहमा आवद्ध भई बचत गर्र्दै आएका महिलाहरुलाई सहकारीमा आवद्ध गराएर अगाडि बढाउन सकेमा वैधानिक रुपमा समेत सहजता हुने जिसीको भनाइ छ ।

इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा सहकारी व्यवस्थापन अन्तरगत सहकारीको ऐतिहासिक विकासक्रम, सहकारीमार्फत सञ्चालन गर्न सकिने व्यवसायिक कार्यहरु, सहकारीमा वचत र वचतको महत्व, सहकारीका मूल्य मान्यता र सिद्धान्त लगायतका विषयमा सहजीकरण गरिने इन्प्रेड नेपाल पर्वतका कार्यक्रम संयोजक टुकप्रसाद शर्माले जानकारी दिए ।

दुईदिनसम्म सञ्चालन हुने तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको कार्यक्रम संयोजक शर्माले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply