बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चौबीसै घण्टा प्रसुती शल्यक्रिया सुबिधा सम्बन्धी छलफल सम्पन्न
बुर्तिबाङ, २०७४ फागुन २७ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चौबीस घण्टा प्रसुती शल्यक्रिया सुबिधा सम्बन्धी बैठक तथा स्वाथ्यकर्मी बिच समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य महाशाखाबाट बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा सञ्चालित शल्यक्रिया सहितको प्रसुति सेवालाई थप प्रभावकारी बनाउन तथा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको अनुगमनका लागीे स्वास्थ्य महाशाखाका बरिष्ठ महिला रोग विशेषज्ञ डा. इन्द्र प्रजापती सहितको नेतृत्वमा आएको टोलीले शनिवार ढोरपाटन नगरपालिकाका पदाधिकारी तथा कर्मचारी बिच स्वास्थ्य केन्द्रको सेवा सुदृढ गर्ने बिषयमा बिशेष छलफल भएको थियो ।
सो अबसरमा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख दिपक प्रसाद तिवारी , धवलागीरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सागर राजभण्डारी, ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुन , प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य , बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत डा. बिजय श्रेष्ठ , मेडिकल अधिकृत डा. रञ्जीतराज पाठक स्टाफ नर्ष पावर्ती अर्याल लगायत केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा डा.प्रजापतिले अझै ४÷५ दिन यहि बसी केन्द्रको अनुगमनसँगै गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच र आवश्यक परेको खण्डमा शल्यक्रिया सहितको प्रसुति सेवा उपलब्ध गराइने जानकारी दिएकी थिईन् ।
सो अवसरमा कर्मचारीहरुले स्वास्थ्य केन्द्रमा रहेका समस्याका बारेमा जानकारी गराएका थिए ।
सो छलफमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख तिवारीले स्वास्थ्य केन्द्रको क्षमता भन्दा बढी काम गरेको बताउदै देशभरमा रहेका प्राथामिक स्वास्थ्य केन्द्र भन्दा बुर्तिबाङ प्राथामिक केन्द्रमा धेरै राम्रो सेवा प्रदान गरिएको बताए ।
उनले अपरेसन थियटरमा चाहिने कतिपय औषधी कम प्रयोग हुने तर एक्सपायर पनि कम हुने भएकाले समस्या हुने गरेको बताउदै , समस्या हर ठाउमा भएपनि समस्याको समाधान पनि गर्न सकिने भएकाले स्वास्थ्यकर्मीलाई मिलेर गुण्स्तरीय सेवा प्रदान गर्न निर्देशन दिए ।
सो अवसरमा धौलागीरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारीले स्वास्थ्यकर्मी हुनुमा गर्व गर्नुपर्ने बताउदै स्वास्थ्य केन्द्रलाई थप प्रभाबकारी बनाउनका लागी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले बागलुङको पश्चिम क्षेत्रमा पनि स्वास्थ्य सेवा विस्तारको लागि केन्द्रबाट भैरहेको प्रयास सह्रानीय भएको बताउदै। “नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई बिशेष प्रथामिकतामा राखेको छ, तपाईहरु समस्याका खाकाहरु सिस्टमेटिक तरिकाले नगरपालिकामा ल्याउनुस हामी सहयोग गर्न तयार छौँ भन्दै स्वास्थ्यकर्मीलाई आफ्नो जिम्मेबारी नभुलेर सेवाग्रहीलाई गुणस्तर सेवा प्रदान गर्न आग्रह गरिन् ।
कार्यक्रममा स्वास्थ्य केन्द्रमा प्रसुति सेवालाई प्रभावकारी बनाउन भौतिक संरचना र जनशक्तिको बिषयमा समेत जानाकारी लिईएको छ । स्वास्थ्यकेन्द्रमा रहेका बिभिन्न समस्याको समाधान तथा आवश्यकता अनुसार पूर्वाधार विस्तारको पहल गर्ने समेत बताईएको छ ।
विगत लामो समययता अवरुद्ध शल्यक्रिया सहितको प्रसुति सेवा गत माघ २३ गतेबाट पुनः सञ्चालनमा आएको छ । शल्यक्रियायुक्त प्रसुति सेवाको लागि शल्यक्रिया गर्न सक्ने डाक्टर रञ्जीतराज पाठक र १ जना शल्यक्रियापूर्व बेहोस बनाउने स्वास्थ्यकर्मी १ जना अपरेसन कक्षको लागि छुट्टै स्टाफ नर्सको पदपुर्ति भएपछि सेवा सञ्चालनमा आएको छ । स्वास्थ्य केन्द्रबाट साधारण प्रसुति सेवा र जटिल प्रसुति सेवा निरन्तर रुपमा सञ्चालनमा छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा मासिक रुपमा औसत ३० जनाको सफल डेलिभरी हुने स्वास्थ्य केन्द्रको तथ्याङ्कमा छ ।