गल्कोट २०७४ फागुन २७ । घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले होली पूर्णिमा मेला २०७४ को समीक्षा तथा आय व्यय सार्वजनिक गरेको छ । खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका सॅगै संस्थाले फागुन १४ गते देखि १७ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित आफनो ३३ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला आयोजना गरेको थियो ।
संस्थाको कार्यालय गलकोट नगरपालिका ७ मल्ममा आज आयोजित समिक्षा तथा आय व्यय सार्वजनिक कार्यक्रममा मेलामा नगद रु ५ लाख ९० हजार ७ रुपैयॉ आम्दानी, रु ३ लाख ६१ हजार ९ सय ६५ खर्च र रु २ लाख २८ हजार ४२ रुपैयॉ खुद बचत भएको आय व्यय सहितको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले प्रस्तुत गरेका थिए।
समीक्षा कार्यक्रममा २०७४ को होली मेला विगतमा भन्दा धेरै राम्रो, कम खर्चमा स्तरिय मेला, यसपटक मेलामा दर्शकको उल्लेख्य उपस्थिती, सबै कार्यक्रमहरु सौहार्द वातावरणमा सम्पन्न भएको अन्तरकृयाले निष्कर्ष निकालेको छ।
समीक्षा कार्यक्रममा संस्थाको कार्य समितिका पदाधिकारीहरु, सल्लाहकार सदस्यहरु, महिला समुहका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्थानिय युवाहरुको उपस्थिती रहेको थियो ।
बैठकले मेला सफल पार्न सहयोग गर्ने प्रायोजक, सहयोगदाता, खेलाडी, कलाकार, प्रतियोगी, पत्रकार, महिला समुह, युवा, समाजसेवी लगायत सबैमा धन्यवाद समेत ज्ञापन गरेको छ । समिक्षा तथा आय व्यय सार्वजनिक कार्यक्रम घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।