थम्मनथापा सन्देश, गल्कोट बागलुङ २०७४ चैत १ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विश्वराज जंग थापाले पछिल्लो समयमा व्यक्तिवादी प्रवृत्ति बढेकोले समाजमा असभ्य कृयाकलाप बढदै गईरहेको बताएका छन् ।
गल्कोट सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा ईलाका प्रहरी कार्यालय गल्कोटको सहकार्यमा शान्त र सभ्य समाज निर्माण विषयक अन्तरकृया कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै प्रनाउ थापाले सभ्य समाज निर्माण गर्न पहिला घर र बाबु आमा ठिक हुनु पर्ने बताए ।
समाजमा बढदै गईरहेको घरेलु हिंसा, महिला हिंसा, कुलत, लागू औषध दुर्व्यसनी र मदिराजन्य पदार्थ सेवन गरि समाजलाई खलबल पुराउने गतिविधि नियन्त्रण गर्न प्रहरी एक्लैले मात्रै सम्भव नभएको भन्दै यस्ता कृयाकलाप न्यूनिकरण गर्न प्रहरी, निर्वाचित जनप्रतिनिधी र समुदाय बिच सहकार्य र मेलमिलाप हुनु पर्नेमा प्रनाउ थापाको जोड थिया । उनले यस्ता जनचेतनामुलक कार्यक्रम टोल टोल र वडामा समेत हुनु पर्ने बताए ।
सो अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ गुठीका अध्यक्ष लिला खडका, सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखा बागलुङका अध्यक्ष दुर्गा बहादुर आचार्य, गलकोट खबर अनलाईन प्रमुख थम्मन थापा सन्देश, गलकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण ध्वज मल्ल, वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, वडा नं ६ का वडा सदस्य भिम बहादुर विक, गल्कोट नगरपालिकाका कार्यपालिका सदस्य कमला ढकालले मन्तव्य व्यक्त गरेका थिए ।
अन्तरकृयामा समाजमा हुने घरेलु हिंसा, महिला हिंसा, लागू औषध दुर्व्यसनी न्यूनिकरण लगायत अपराधिक कृयाकलाप कसरी नियन्त्रण र न्यूनिकरण गर्न सकिन्छ, सभ्य र शान्त समाज निर्माण गरि समृद्व समाज बनाउन कसको भूमिका के रहन्छ लगायतका विषयमा छलफल गरिएको थियो ।
अन्तरकृया कार्यक्रम गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसेको अध्यक्षता उपाध्यक्ष छम बहादुर खत्रीको स्वागत र सदस्य योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।