कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ चैत १२ । जिल्ला समन्वय समिति बागलुङका उपसंयोजक विष्णु भुसाल सहितको अनुगमन टोलीले आज बडीगाड गाउँपालिका भित्रका एस इ ई परीक्षा संचालन भएका केन्द्रहरुको अनुगमन गरेको छ। बडीगाड गाउँपालिका वडा नं. २ मा रहेको त्रिभुवन मावि केन्द्र, वडा नं. ५ मा रहेको भानु मावि केन्द्र र वडा नं. ७ मा रहेको भिमगिठे मावि केन्द्रको अनुगमन गरेको हो। अनुगमनका क्रममा परीक्षा मर्यादित ढंगले संचालन भएको पाइएको उपसंयोजक भुसालले जानकारी दिए ।
टोलीमा भुसाल सहित बडीगाड गाउँपालिकाका प्रेस सल्लाहकार कमल पौडेल, गाउँ शिक्षा अधिकारी कृष्ण रेग्मी, वडा नं. ७ का वडा अध्यक्ष कृष्ण गुरुङ, वडा नं. १ का अध्यक्ष वोम थापा लगाएतको टोलीले अनुगमन गरेको हो। चैत्र ८ गतेवाट सुरु भएको एस ई ई परीक्षाको आज तेश्रो दिन अनिवार्य गणित विषयको परीक्षा सम्पन्न भएको हो । भिमगिठे मावि केन्द्रमा १ सय ५७ जना, भानु मावि केन्द्रमा २ सय ८१ जना र त्रिभुवन मावि केन्द्रमा १ सय ६८ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्।