सुमन जि.सी म्याग्दी २०७४ चैत १५ । बेनी नगरपालीकाकी उपप्रमुख सञ्जु बरुवालले वित्तीय साक्षरता विना आर्थिक समृद्ध असम्भव रहेको बताएकी छन् ।
बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा ६१ औं राष्ट्रिय सहकारी दिवस २०७४ को अवसरमा म्याग्दीको गलेश्वर स्थित होटल रिभरसाईडमा आयोजना गरेको ३ दिने आवसीय प्रशिक्षक प्रशिक्षण दोश्रो चरण, वित्तीय साक्षरता तथा सहकारी व्यवस्थापन तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी बरुवालले सो कुरा बताएकी हुन् ।
अधिकांश नेपालीहरुमा आफ्नो आम्दानी र खर्चको कार्ययोजना नहुँदा एवं वित्तीय व्यवस्थापन गर्न नसक्दा आर्थिक शशक्तिकरण हुन नसकेको उपप्रमुख बरुवालको भनाई थियो ।
कार्यक्रममा तालिमका प्रशिक्षक एवं नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले वित्तीय व्यवस्थापन सम्वन्धि ज्ञान सिप र कुशल प्रशिक्षक उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताएका थिए ।
तालिमको उद्घाटन सत्रमा जिल्ला सहकारी संघ लि. बागलुङका सदस्य तेजेन्द्र थापा, स्वास्थ्य सहकारी संघ लि. बागल्ङका अध्यक्ष सीता शर्मा, तरकारी तथा फलफुल उत्पादक सहकारी संघका अध्यक्ष पार्वती आचार्य लगाएतको सहभागिता रहेको थियो ।
फागुन ६ देखि ९ गते सम्म पहिलो चरणमा वागलुङमा बजारमा आयोजना गरिएको यो तालिम दोश्रो चरणमा म्याग्दीमा आयोजना गरिएको संघका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए । संघले सदस्य संस्थाहरुको संस्थागत विकास र क्षमता अभिबृद्धिका लागि विभिन्न चरणहरुमा तालिम गोष्ठि र भ्रमणहरु आयोजना गर्दै आईरहेको पौडेलका भनाई थियो ।
राष्ट्रिय सहकारी दिवसका अवसरमा संघले १७ गते सिवाईसी साकोससंगको सहकार्यमा श्रमिकहरु संग अन्तरक्रिया, १८ गते सहकारी ऐन र सम्पत्ति शुद्धिकरण सम्वन्धि अन्तरक्रिया तथा ऐन नीयमावली र नीतीहरुको संगालो भाग २ विमोचन लगाएत जिल्ला सहकारी संघ लि. बागलुङले आयोजना गरेका कार्यक्रमहरुमा सहभागि जनाउने कार्यक्रम रहेको पौडेलले बताएका थिए ।
बागलुङ र म्यादीका २५ जनाको उपस्थिती रहेको तालिमको अध्यक्षता संघका अध्यक्ष पौडेल, स्वागत सञ्चालक चीनीमायाँ कालामगर र सञ्चालन सचिव ऋषिराम गौतमले गरेका थिए ।