शब्द/चित्र विजय राना, बागलुङ २०७४ चैत १५ । ‘बागलुङको दक्षिण जैमिनी नगरपालिकाको मुहार तीब्र गतिमा परिवर्तन हुँदैछ’ । यो वाक्य बारे धेरै मानिसलाई विश्वास नहुन सक्छ । किनकी जैमिनी नगरलाई आम मानिसले हेर्ने दृष्टिकोण अहिले पनि नकरात्मक नै पाईन्छ ।
राजनीतिक रुपमा दलहरु बिच अत्यन्त तिक्तता रहेका कारण धेरै मानिसहरु यो सोँच्दछन्की त्यहाँ विकास निर्माणका हरेक काममा अबरोध गरिन्छ ।
विशेष गरि नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र एमालेले एक अर्काको शक्तिलाई अहिले पनि स्वीकार गर्दैनन् । करिब–करिब निषेधकै राजनीति जस्तो छ । त्यस कारण पनि विकास निर्माणका पाईला–पाईलामा अबरोध खडा गरिन्छ । जसको परिणाम विकास निर्माणका काम प्राय ठप्प हुन्छन् । बाहिरबाट हेर्नेहरुको दृष्टिभाव अहिले पनि यस्तै पाईन्छ । त्यो सोचाई अन्यथा पनि होईन । केही वर्ष पहिले सम्म त्यहाँ दलहरु बिच पानी बाराबारनै जस्तो थियो । दलहरु बिच एकअर्कालाई निषेधनै गरिन्थ्यो, फरक आस्था र बिचार राख्नेहरुमाथि सांघातिक हमला भएका थुप्रै घट्ना छन् ।
तर आज त्यो अवस्था विस्तारै बदलिएकोछ । प्राय सबै दलको प्रमुख एजेण्डा विकास छ । विकासमा अबरोध गर्नु हुँदैन भन्ने मान्यता स्थापित भइरहेको छ । त्यो मान्यताको प्रभाव अहिलेको बिकास निर्माणमा परेको प्रतक्ष देख्न पाईन्छ । विवादका कारण अघिल्लो वर्ष सम्म उपभोक्ता समिति गठन हुन नसकेर थुप्रै पटक बजेट फ्रिज गएको र बर्षौँ सम्म मोटरबाटो लगायतका विभिन्न काम अगाडी बढ्न नसकेका थुप्रै उदाहरणहरु हुन्थे । तर आज त्यो समस्या एकाद ठाउँमा मात्रै सीमित छन् । जैमिनी नगरपालिकाका केही वडामा बाहेक विवादहरुलाई छिटैनै सुल्झाएर विकास निर्माणका कार्यलाई तिब्र पारिएको छ । त्यो नगरपालिकाको लागि सुखद कुरा हो । ‘समृद्ध जैमिनी’को लागि बलियो आधार होे ।
आफ्नै ठाउँ भएकाले त्यस क्षेत्र प्रति ज्यादा चासो हुनु स्वाभाविक हो । त्यसकारण पनि मलाई त्यहाँका हरेक क्रियाकलाप सूक्ष्म तरिकाबाट हेर्ने मन लाग्छ । त्यसको परिणाम सकरात्मक होस भन्ने पनि लाग्छ । तर कतिपयमा नकरात्मक भेटिन्छ, त्यतिखेर समाचार देखि सामाजिक सञ्जालबाट त्यस्ताका बिरुद्ध आगो ओकलौँ हुन्छ । सकरात्मक परिणाम भेट्याउँदा यो मन अत्यन्त आनन्दित हुन्छ । हरेक समस्या, दुःख सबै भुलेर मन प्रफुल्लित हुन्छ । एकदिनको जैमिनी यात्राले मन त्यस्तै प्रफुलित बनायो ।
मंगलबार सानो काम लिएर जैमिनी नगर पालिका तिर जाँदै थिएँ । जैमिनी नगरपालिका वडा न. १ कुश्मीसेरा बजारमा पुग्ना साथ सुखद तस्विर खिच्न पाइयो । अत्यन्त अव्यवस्थित र धुलाम्य सडकका बिच त्यहाँ नाली निर्माणको कामलाई तिब्र पारिएको रहेछ । कुश्मिसेराको तल्लो बजारको बिच भागबाट बग्ने कुलो व्यवस्थित बन्दै रहेछ, बजारको बिच भागबाटै बगेको कुलोले अत्यन्तै अव्यवस्थित र कुरुप बनाएको जैमिनी नगरको मुख्य शहर कुश्मिसेराको रुप फेरिँदै छ । त्यसले शुन्दर जैमिनीको लागि मद्धत पुग्नेछ । विकास चाहने तर सार्वजनिक बाटोको लागि एक इन्च पनि आफ्नो जग्गा छाड्न तयार नहुने प्रवृतिका बिच निर्माण भइरहेको नालिले अवश्य पनि सकरात्मक सञ्चार प्रवाह गर्नेछ ।
बजारमा मात्रै होइन सुर्कवा–ब्याडथला जाने मोटरबाटोमा पनि नाली खन्न सुरु गरिएको थियो । ७ मिटर चौडा बनाइएको बाटोमा कच्ीच नाली बनाउन थालिएको छ । त्यसको अनुगमनको लागि जैमिनी नगरपालिकाका उप–प्रमुख लिला राना, प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी, सर्कुवाका वडा अध्यक्ष चक्रबहादुर थापा लगायतको टिम त्यहीँ थियो । जैमिनी भित्र भइरहेको विकास निर्माणका काममा नगरपालिकाले निरन्तर अनुगमन गरिरहेको छ ।
त्यही दिन नै ठेउलेखोला जलविद्युत आयोजनाको परिक्षण गरियो । लामो समयको अलमल र जग्गा मुअब्जा बिवादले लम्बिएको आयोजनाको परिक्षण हुनु सुखद पक्ष हो । जैमिनीको विकासको पाईपलाईनको रुपमा हेरिएको १.५ मेगावाटको आयोजना बन्नु त्यस क्षेत्रको लागि अत्यन्त खुसीको कुरा हो । त्यसले जैमिनीको आय बृद्धि गर्न अत्यन्त महत्वपूर्ण भुमिका खेल्नेछ । आयोजना परिक्षणको कुरा गरिरहँदा एउटा कुराले भने निकै बिझायो । खासमा केटाकेटी उमेरमा खोलामा पुग्दा खोला सुक्यो भने खोलाका माछा कहाँ जालान ? भन्ने मनमा उब्जिने प्रश्नले सताउँथ्यो । परिक्षणका दिन हाइड्रोको ड्याम भन्दा तल्लो खोलाको भाग सुक्खाराम थियो । त्यो अवस्था देखेर पुनःत्यही प्रश्न मनमा उब्जियो । माछा मात्रै होइन खोलामा रहेका माछा लगायतका अन्य प्राणीको हालत के भयो होला ? कता गए होलान ती माछा ? एकैछिन घोत्लिन मन लाग्यो । तर त्यसबेला माछा मात्रै भन्दा पनि बिवादको कारण रोकिएको जल विद्युत आयोजनाको परिक्षण भएकोमा मनमा तत्कालनै खुसिको सञ्चार हुन पुग्यो । जैमिनी नगरपालिकाको विकासको पाईपलाईन रहेकोले पनि ती जलप्राणीको चिन्ता गौण बन्यो ।
आयोजनाको आडैमा ठेउलेखोला माथि पुल बनिसकेको छ । त्यो जैमिनी नगरपालिकाको कार्यालय संग जैमिनीका वडाहरु ४, ५, ६, ७, ८ र १० जोड्ने पुल हो । पुल बने पनि पुलको आडमा बनाउँदै गरेको पर्खाल बनिसकेको छैन । त्यसकारण अहिले पनि ती वडामा गाडी आवात–जावत खोलाबाटै जानु पर्ने बाध्यता छ । पर्खाल नबन्दा ती वडा संग यातायात बिच्छेद हुने गरेको छ । स्थानीय तहको निर्वाचन सकिएको केही समयमा नै पुल सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाइएको थियो । बिडम्बना पर्खाल नबन्दा अहिले पनि पुल सञ्चालनमा आउन सकेको छैन । यसबारेमा प्रशासकीय अधिकृत सुवेदीले बर्खा सुरु हुनु अघि नै काम सक्ने बताउनु भएको छ । सकरात्मक रुपमा हेर्दा पर्खाल बनाउने गतिलाई तिब्र पारिएको छ । मज्दुरहरु निरन्तर काममा छन् ।
जैमिनी यात्रामा जे देखियो त्यो सकरात्मक छ । कम्तिमा पनि विकास निर्माणका कामहरु तिब्र गतिमा भइरहेका छन् । विकास निर्माणमा भोका जैमिनीबासीहरु पनि यही चाहिरहेका छन् । हरेक काम तिब्र गतिमा जनताले देख्ने गरि होउन भन्ने छ । यो निर्माणको गतिले ५ वर्षमा ‘समृद्ध जैमिनी’ बन्छ भन्ने नै हो । त्यसको लागि नागरिकहरुले पनि हौसला र बढ्ता खबरदारी गरिरहनु पर्छ । प्रत्येक नागरिकले निर्माण भइरहेको काम गुणस्तरीय छ या छैन खोजिरहनु पर्छ । मापदण्ड अनुसार काम भएको छ या छैन प्रश्न सोधिनु पर्छ । आर्थिक पारदर्शिता छ÷छैन बुझिरहनु पर्छ । पाइला–पाइलामा हौसला, पाईला–पाईलामा खबरदारी गर्न सक्यौँ भने ‘समृद्ध जैमिनी’ सम्भव छ । त्यसमा आम नागरिकले संगै हातेमालो गर्नु पर्छ । त्यसो ग¥यौँ भने मात्र जैमिनी नगरपालिकाको परिचय बदलिनेछ । ‘समृद्ध जैमिनी’ हुनेछ ।