बुर्तिवाङ २०७३ फागुन ३ । बुर्तिवाङ बजारलाई नमुना शहरको रुपमा विकास गर्न सुधारका कामहरु भैरहेका छन् । नमुना शहरका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्ने प्रक्रिया सुरु भएको छ ।
यसै सन्दर्भमा अव्यस्थितरुपमा रहेको बुर्तिवाङ बजारका पसल र पसल अगाडीको सार्वजनिक सडकनै आफनो गराएर मालसमानहरु यत्रतत्र राख्ने प्रवृत्तिको अन्त्य गर्ने शुभकार्यको थालनी गरिएको छ ।
बागलुङ उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङ, एकीकृत सेवा केन्द्र बुर्तिबाङ र इलाका प्रहरी कार्यालय बुर्तिबाङको संयुक्त पहलमा सोमवार देखि बुर्तिबाङ बजारमा वजार व्यवस्थापनका लागि नियमित अनुगमन सुरु गरिएको हो ।
सडक नै आफनो सम्पत्ति ठान्ने केहि स्थानीय व्यापारीहरुको गलत सोँचलाई यस अभियानले निरुत्साहित गर्ने स्थानीयले विश्वास लिएका छन् । यो अभियान चर्चाको लागिमात्र नभएर दीगोरुपमा बुर्तिवाङ बजारलाई स्वच्छ, सफा र दुर्गन्धरहीत राख्न सफल हुने विश्वास लिईएको छ ।
खासगरी बजार सरसफाई पश्चात फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साईटको आवश्यकतालाई कसरी पूरा गर्ने भन्ने तिरपनि अभियन्ताहरुको सोँच जरुरी छ । आशा गरौँ यस दिशामापनि अनुगमन टोलीले ध्यान दिने छ ।
राष्ट्रिय उपभोक्ता मन्चले बेला मौकामा बुर्तिवाङ बजार अनुगमनको नाममा व्यापारीहरुलाई सताए जस्तो नहोस भन्ने स्थानीय व्यापारीहरुको गुनासो रहेको छ ।
तस्वीर- सुमन सुनार, बुर्तिवाङ ।