बागलुङ २०७४ चैत १८ । बागलुङ नगरपालिकाले नगरपालिकाको नियम अनुसार नक्शा पासगरी घर (भवन) बनाउने अनुमति दिएपछी मात्र घरहरु निर्माण गर्नुपर्नेमा बागलुङ बजारका मुख्य क्षेत्रमा नगरपालिकाबाट नक्शा पास नै नगरी आफ्नै तजबिजले ठुलाठुला घरहरु निर्माण गर्ने होडबाजी चलिरहेको छ ।
एक सर्वेक्षण अनुसार बजार क्षेत्रमा नगरपालिकाको अनुमती बेगर तीन दर्जनको हाराहारीमा अवैधरुपमा नयाँ घरहरु बनिरहेका छन् । नगरपालिकाका बडा हाकिमहरुले यसरी अवैधरुपमा निर्माण भैरहेका घरहरुलाई देखेका छैनन् या देखेरपनि आँखा चिम्लिएका छन् ।
नगरपालिकाको मापदण्डलाई लिएर झण्डै दुई वर्ष पहिले बागलुङ बजारमा ठुला ठुला बिरोध जुलुस निकालिएको थियो, नगरपालिकाको रातामाटा स्थित कार्यलय र उद्यान अगाडी रहेको नगरपालिकाको सम्पर्क कार्यालयमा तालाबन्दी गरिएको थियो, यतिमात्र नभएर नगरपरिषद नै स्थगित गर्न बाध्य पारिएको थियो भने जिल्ला प्रशासन कार्यालयमा सयौँ नगरवासीको हस्ताक्षर सहित ज्ञापनपत्र बुझाईएको थियो । तर, जजस्लाई अन्याय भयो भनी नगरवासीलाई आन्दोलित बनाई नगरपालिकाको बिरोधमा जुलुस निकालिएको थियो ती बिचराहरु नगरपालिकाबाट नक्शा पास नै नगरी आफुखुसी गगनचुम्वी भवनहरु बनिरहेको टुलुटुलु हेर्न बाध्य छन् ।
२०७२ सालको महाभूकम्पपछी बागलुङ बजारमा नगरपालिकाको अनुमति बिना तल्ला थपिएका घरहरु स्थानीय प्रशासनले भत्काउन लगाएको प्रत्यक्ष देखेका नगरवासीहले बिना नक्शापास धमाधम गगनचुम्वी घरहरु बनिरहेको देख्दा ‘अँधेर नगरी चौपट राजा…’ भनेर टिप्पणी गरिरहेका छन् ।
…
नगरपालिकाले अबैधरुपमा निर्माण भैरहेका संरचनाहरु रोक्न किन सकेन ? यस्ता अबैध संरचनाहरुले भविष्यमा निम्त्याउने समस्याको समाधान कसरी गर्छ नगरपालिकाले ? अबैधरुपमा निर्माण भैरहेका संरचनाहरु तत्काल रोक्न र भत्काउन नगरपालिकाका बडाहाकिमहरु किन निरीह देखिए ? के छ यी प्रश्नहरुको जवाफ नगरपालिका संग ? नगरवासीले थाहापाउनु उनिहरुको विशेषाधिकार हो ।