सुवास गौतम, बागलुङ २०७४ चैत १९ । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र सूचना तथा सञ्चार सहकारी संघ लिमिटेड बागलुङले आइतवार आयोजना गरेको समृद्धिका लागि सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम कार्यक्रममा बोल्दै सहकारी विभागका पुर्व रजिष्ट्रार सुर्दशन ढकालले सहकारी र स्थानीय तह संग समन्वय तथा सहकार्य भएमा मात्र देशको समृद्धि सफल हुने बताए ।
समाज रुपान्तरणको महत्वपूर्ण माध्यम सञ्चार हो, सञ्चार विना समृद्धि सफल हुन सक्दैन भन्दै ढकालले सञ्चार क्षेत्रले सहकारीका सकारात्मक र नकरात्मक पक्षहरुलाई जनताका बीचमा ल्याउनु पर्नेमा जोड दिए ।
सकारात्मक कुरालाई प्रवद्र्धन गर्न र कमजोरीलाई सुधार गर्ने वातावरण सिर्जना गर्नका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै ढकालले जनतालाई प्रत्यक्ष रुपमा विकास र समृद्धिको यात्रामा हिडाउने सहकारीको प्रवद्र्धनका लागि सञ्चार क्षेत्रले प्रभावकारी भूमिका निभाउनु पर्ने बताए ।
ढकालले विश्वमा सहकारीले खेलेको भुमिका, संघ, प्रदेश, तथा स्थानीय तहहरुको सहकारी वीच समन्वय विषयमा सहजीकरण गरेका थिए ।
यस्तै अन्तरक्रिया कार्याक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका केन्द्रिय सञ्चालक राम बहादुर जि.सी.ले सहकारीले जनताको जीवन स्तर माथि उठाउन गरेका प्रभावकारी कामहरु ओझेलमा परेको बताए । नकरात्मक विषय छिटो आउने तर राम्रा र प्रभावकारी कामहरु लुकेको भन्दै जिसीले सकारात्मक विषयलाई उत्प्रेरणाका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममामा भिमपोखरा युवा क्लवका कार्यबाहक अध्यक्ष मणिभद्र शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, पत्रकार प्रकाश बराल लगायतले सञ्चार तथा सहकारीको भूमिकाका विषयमा धारणा व्यक्त गरेका थिए ।
सूचना तथा सञ्चार सहकारी संघ लिमिटेड बागलुङ र जिल्ला सहकारी संघ लिमिटेड बागलुङको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सचिव तेजेन्द्रबहादुर थापाको सञ्चालन र सूचना तथा सञ्चार सहकारी संघका उपाध्यक्ष खिम कार्कीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।