शव्द/चित्र: झरना कँडेल, बुर्तिवाङ २०७४ चैत २१ । त्यसो त, प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय ढोरपाटन बाह्रै महिना भ्रमणका लागि उपयुक्त नै छ, तैपनि आन्तरिक एवं बाह्य पर्यटकहरु खास गरी जाडो भन्दा गर्मी याममा नै बढी आउने गर्छन् ।
ढोरवासीहरु असोज महिनामा आफना गाईबस्तुहरु सबै लिएर बेसी गाउ झर्ने र चैत महिना लागेपछी ढोर फर्कने स्थानीयहरुको प्रचलन या परम्परा रहेको हुनाले यस समयमा मानवबस्ती कम हुने हुनाले ढोरपाटन घुम्न आउनेहरुको संख्या न्यून हुने गरेको स्थानीयको भनाई पाईयो ।
यति बेला बेसीबाट स्थानीयहरु गाईबस्तु लिएर ढोरमा फर्किरहेका छन् भने चहलपहल पनि निकै बढेको छ । अर्कोतिर मुलुकको एकमात्र शिकार आरक्षमा शिकारको सिजन सुरु भएकोले शिकारीहरुको आवागमनले समेत ढोरको जनजीवन रमाईलो बनेको छ । ढोरपाटनको वरपर, आसपास, जताततै लालीगुराँस फुल फुलेको मनमोहक दृश्यले कसको मन नहर्ला ? फागुन महिनामा ढोरमा हिमपात भएपनि अहिले भने हिउ परेको छैन । सामान्यत: चैत महिनाको आखिरी तिर भारी हिमपात हुने गरेको पछिल्ला वर्षहरुको अनुभव ढोरबासीले सुनाए ।
चैत महिनाको पारिलो घाममा ढोरको जनजीवन निकै खुसहाल देखिन्छ । खासगरी बैशाख र जेठ महिनामा ढोरपाटन अति नै सुन्दर, मनमोहक, चित्ताकर्षक हुने अनुभव धेरैको पाईयो । केहि समय देखी ढोरपाटनमा नेपाली सेनाको गुल्म रहेपछी ढोरपाटन अझ रमाईलो बनेको स्थानीयको अनुभव छ । केहि वर्ष पहिले सम्म ३ सयको हाराहारीमा तिब्बती शरणार्थीहरु बसोबास गर्ने ढोरपाटनमा हाल ३०/४० परिवार मात्र रहेको ढोरमा भेट्टिएका तिब्बती शरणार्थीले बताए । उनका साथीहरु सबैजसो पोखरा र काठमाडौ पलायन भएको उनिहरुको भनाई छ । ढोर स्थित तिब्बती शरणार्थीहरुको गुम्बा असुरक्षाका कारण अहिले रित्तै छ । त्यहाँ प्राकृतिक जडीबुटीबाट औषधी तयार गरी उपचार गरिने गरेको उनिहरुले बताए ।
दिनानु दिन आगन्तुकहरुको नयाँ नौला अनुहान र पहिरन देख्न पाईरहेका ढोरबासीहरुको रहनसहन, भेषभुषा, आनिबानि र परम्परामा परिवर्तनले त्यत्ति फड्को मारेको देखिएन । लगभग पुरानै चलनमा त्यहाँको जनजीवन चलिरहेको अहिले पनि देखिन्छ ।
शिकार आरक्ष कार्यालयमा हाकिम साहेबलाई दुर्लभ नै देख्न पाईने रहेछ । सहायक कर्मचारीको भरमा सन्चालनमा रहेको शिकार आरक्ष कार्यालयमा यतिखेर शिकारको सिजन भएकोले कामको माचो रहेछ । नेपाल टेलिकमको टावरले काम नगर्दा मोबाईल फोन सम्पर्क भने हुँदो रहेन छ ।
सडक यातायातले गर्दा बुर्तिवाङ देखी ढोरपाटन पुग्न सहज छ । साबिक बोवाङ गाविसको बोवाङ गाउँमा यतिबेला लटरम्म गहुँको पाकेको बाला झुलेको लोभलाग्दो दृश्यले सबैको ध्यान खिच्छ । ढोरपाटन देउराली पुग्नु केहि वरै रहेको रुद्रतालको अवलोकन गर्ने अवसरको फाईदा पनि सबैले लिने गरेको पाईयो । गर्मी बढ्दै गएकोले रुद्रतालमा पानीको मात्रा निकै कम रहेको देखियो । यसको आवश्यक संरक्षणमा ढोरपाटन नगरपालिकाको ध्यानाकृष्ट हुनु जरुरी देखिन्छ ।
जताततै ढोरपाटनको चर्चा हुन्छ, रमणीय ठाउँ भनेर चिनाईन्छ, एकमात्र शिकार आरक्ष रहेको ढोपाटन भनेर चुट्की बजाईन्छ, प्राकृतिक सौन्दर्यले भरिपूर्ण भनेर कहिल्यै थाकिन्न, प्रशिद्ध ढोरबराहाको मन्दिर र उत्तर गंगा नदीको महत्वलाई लिएर ठुला ठुला कुरा गरिन्छ तर जति यी कुराहरु बाहिर आउछन त्यत्ति ढोरपाटनको विकासका लागि कामकुरा भने भै नसकेको भुजेलढोरका बासिन्दाको गुनासो रहेको छ ।
बैशाख पूर्णिमा (चण्डि पूर्णिमा) र जनै पूर्णिमाका दिन ढोर स्थित ढोरबराह मन्दिरमा विशेष मेला लाग्ने हुँदा यो समय निकै रमाईलो हुन्छ । पवित्र उत्तरगंगाको जलधारमा स्नान गरी ढोरबराह मन्दिरको पूजाअर्चना गर्ने श्रद्धालुहरुको ठुलो भीड लाग्छ । मनले चिताएको पुग्ने धार्मिक विश्वासले सयौँ भेँडाको बलि चढाईन्छ ।
* लेखिका, पत्रकार हुन् ।
आजको तस्वीर : चैत महिनामा ढोरपाटनको घुमघाम !
२०७४ चैत्र २१, बुधबार १२:१६
Footer Slider, Top News, अन्य समाचार, विविध
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०