बागलुङ (बरेङ) २०७४ चैत २२ । सामुदायिक रेडियो विहानीको ७ दिने आधारभुत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको विहिवार बरेङ गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले मैन बत्ती बालेर उद्घाटन गर्दै रेडियो विहानीले ग्रामीण भेगमा पत्रकारीताको विकासको लागि महत्वपूर्ण योगदान पु(याएको भन्दै रेडियोको थप प्रगतिको शुभकामना व्यक्त गरिन् ।
उद्घाटन सत्रको अध्यक्षता गर्दै रेडियो विहानीका संयोजक लेखान्त पुनले पत्रकारीता मार्फत समाज सेवाको क्षेत्रमा केहि गर्ने दृढ इच्छा भएका क्षमतावान प्रतिभालाई रेडियो विहानीले अवसर दिने र सदैव स्वागत गर्ने बताए । २२ गते देखि सुरु भएको तालिम २८ गते सम्म सञ्चालन हुने रेडियो विहानीका स्टेशन कोर्डिनेटर प्रकाश छन्तेलले जानकारी दिए ।
तालिममा पत्रकारिताका आधारभुत सिद्धान्त, समाचार लेखन उत्पादन तथा सम्पादन, कार्यक्रम उत्पादन, रिपोर्ट लेखन, विज्ञापन उत्पादन, अन्तरवार्ता, प्रत्यक्ष प्रसारण, साहित्य सकारात्मक सोंच विकास लगाएतका विषयहरुमा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ ।
तालिममा वरेङ गाउँपालिकाका धुल्लुबाँस्कोट, हुग्दिशिर, बाटाकाचौर र कालीगण्डकी गाउँपालिकाका भुर्तुङ, खड्गकोटका प्रशिक्षार्थीहरु सहभागी भएका छन् । प्रशिक्षार्थीको संख्या तालिमको दोस्रो दिन अझै बढ्ने रेडियोका बजार प्रमुख हिरा पुनले बताए ।
रेडियो विहानीले आफ्ना शेयर सदस्य तथा सञ्चालक संस्था विहानी बहुउद्देश्यीय सहकारीका शेयर धनी वा तिनका छोराछोरीलाई तालिम शुल्कमा क्रमश ५० प्रतिशत र २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । तर, पत्रकारीताको क्षेत्रमा योगदान गर्न चाहने तालिम शुल्कको कारणले तालिम लिन नसक्नेहरुलाई विशेष व्यवस्था गर्ने आयोजकले जनाएको छ । विहीवार भएको उद्घाटन कार्यक्रम संयोजक लेखान्त पुनको अध्यक्षता, दिपेन्द्र परिवारको सञ्चालन र बजार प्रमुख हिरा पुनको स्वागतमा सम्पन्न भएको थियो ।
कार्यक्रममा तालिमका प्रशिक्षक, बागलुङ एफ एमका सम्पादक प्रदिप पन्त, सर्वोदय क्याम्पसकी प्रमुख फूलकुमारी शर्मा, सामुदायिक रेडियो प्रसारक संघका ४ नम्बर प्रदेश सदस्य तथा रेडियो विहानी स्टेशन कोर्डिनेटर प्रकाश छन्तेलले तालिम सफलताको शुभकामना दिएका थिए ।