बुर्तिबाङ, २०७४ र्चत २२ । बुर्तिबाङमा आयोजना हुन लागिरहेको ढोरपाटन महोत्सव—२०७५, बुर्तिबाङमा उँट र अष्ट्रिज मुख्य आकर्णणको रुपमा रहने भएको छ । महोत्सव मुल आयोजक समितिको आजको बैठकले मरुभूमिका पाइने जनावर उँटको नृत्य र सबैभन्दा ठूलो पंक्षी अष्ट्रिजलाई प्रदर्शनमा राख्ने निर्णय गरेको हो ।
धेरै मानिसहरुले उँट र अष्ट्रिजको बारेमा सुनेको तर प्रत्यक्ष नदेखेकाले पश्चिम क्षेत्रका दर्शकहरुलाई यो विशेष आकर्षणको रुपमा रहने मुल आयोजक समितिका संयोजक चिन्तामणी शर्माले बताए ।
त्यस्तै, महोत्सवको अवसरमा लाइट हेलिकप्टरबाट नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन लगायत पश्चिम बागलुङका पर्यटकीय स्थलहरुको अवलोकनको व्यवस्थासमेत गरिएको उनले ईबागलुङलाई बताए । हेलिकप्टरबाट दृश्य अवलोकनको लागि ६ मिनेटको लागि ५ हजार र १२ मिनेटको लागि १० हजार ५ सय शुल्क निर्धारण गरिएको समेत संयोजक शर्माले बताए ।
यसैबीच, आजदेखि महोत्सवको स्टल बुकिङ सुरु भएको छ । स्टल बुकिङ सुरु भएको पहिलो दिन आज १२ वटा स्टल बुकिङ भएको आयोजकले जनाएको छ । महोत्सवमा १ सयदेखि १२० वटासम्म स्टल निर्माण हुने बताइएको छ । महोत्सव स्टलको लागि प्रति स्टल रु १० हजार शुल्क तोकिएको छ ।
महोत्सवको अवधिभर हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइने सुरक्षा समितिका संयोजक तथा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापाले बताए । महोत्सव नजिकिएसँगै सुरक्षा चुनौती पनि बढेकोले यसतर्फ विशेष निगरानी राखिएको उनको भनाई थियो ।
त्यस्तै, आजको बैठकले जिल्लाका सवै स्थानीय तहका प्रमुख तथा प्रतिनीधिहरु र खेलाडिहरुलाई उपस्थितीको लागि पत्राचार गर्ने निर्णय गरेको छ ।
बुर्तिबाङ स्थित उत्तरगंगा माध्यमिक विद्यालयको प्राङ्गणमा बैशाख १ देखि ७ गतेसम्म पश्चिम बागलुङ स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला तथा ढोरपाटन महोत्सव—२०७५, बुर्तिबाङ सञ्चालन हुँदै छ । बागलुङ उद्योग वाणिज्य संघ बुर्तिबाङ इकाइ समितिको आयोजना, ढोरपाटन नगरपालिकाको मुख्य प्रवद्र्धनमा आयोजना हुने महोत्सवमा बडीगाड, निसीखोला र तमानखोला गाउँपालिका सहआयोजकको रुपमा रहेका छन् ।
महोत्सवको अवसरमा खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीता, ४ नं. प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता, ताराखेल प्रतियोगीता, राष्ट्रिय सिएचआइटिएफ तेक्वान्दो च्याम्पियनशीप, पञ्चेवाजा प्रतियोगीता, पुरुष तथा महिला छेलो प्रतियोगिता, रस्सा कस्सा प्रतियोगीता, कविता प्रतियोगीता, विद्यालय स्तरीय वत्तित्वकला प्रतियोगीता र खुल्ला हाजिरीजवाफ प्रतियोगीताको समेत आयोजना गरिएको छ । महोत्सवको अवसरमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय स्तरका फरक फरक कलाकाहरुबाट सांगीतिक प्रस्तुती रहने छ ।
महोत्सवको माध्ययमबाट पश्चिम बागलुङको पर्यटकीय स्थलहरुको प्रचार प्रचार, कृषि तथा पशुजन्य उत्पादनको प्रवद्र्धन र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।