Sorry, that menu does not exist.
 

चैत ३० गते प्रधानमन्त्री केपी ओली ढोरपाटन आउदै !

पश्चिम बागलुङको विकास र पर्यटन प्रबर्धनसँग ढोरपाटन महोत्सवलाई जोडनु आवश्यक

प्रशान्त घर्तीमगर, बुर्तिबाङ, २०७४ चैत २३ । ढोरपाटन महोत्सव २०७५ पश्चिम बागलुङको विकास र प्रयटन प्रवद्र्धनसँग जोडन सक्नु पर्नेमा स्थानीय ४ पालिकाका प्रमुख तथा उपप्रमुखहरुले जोड दिएका छन् ।

महोत्सव सञ्चालन मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षतामा आज सम्पन्न भएको अन्तरक्रियात्मक कार्यक्रममा निसीखोला, तमानखोला, बडीगाड गाउँपालिकाहरुका अध्यक्षहरु तथा ढोरपाटन नगरपालिकाका उप—प्रमुख सहित स्थानीय बुद्धिजीवहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ शर्माले, ‘समग्र पश्चिम क्षेत्रलाई एकतामा जोडदै यहाँको विकास निर्माणमा साझा एजेण्डाहरु बनाएर उपल्लो निकायमा लैजानु पर्नेमा जोड दिए । अध्यक्ष पौडेलले स्थानीय निकायबाट सम्पन्न हुन नसक्ने राष्ट्रिय गौरवका आयोजना, सडक, खानेपानी, विद्युत निर्माण तथा शिक्षा स्वास्थ्यका क्षेत्रमा संघीय संसदसम्म हाम्रा योजनालाई लैजान जरुरी रहेको बताए ।

यसैबीच कार्यक्रममा बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले, पश्चिम बागलुङका स्थानीय स्रोत साधनहरुलाई सक्दो सदुपयोग गर्दै महोत्सवका सन्दर्भमा केन्द्रबाट आउने उच्च पदस्थ व्यक्तित्व र साँसदहरु मार्फत यहाँका समस्याहरुलाई संबोधन गराउन पहल गर्नुपर्नेमा जोड दिए । अध्यक्ष पाइजाले, ‘ढोरपाटन क्षेत्र पश्चिम क्षेत्रको गौरवको विषय भएको भन्दै, यहाँको पर्यटन विकास, स्थानीय स्तरमा आवश्यक पूर्वाधार निर्माण र संघीय सरकारको दायित्वका विषयमा समेत यहाँका मागहरुलाई एकीकृत गरि लैजानु पर्ने भएकाले महोत्सवलाई अवसरका रुपमा आफूले लिएको स्पष्ट पारे ।

उता तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले, ढोरपाटन क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा, उत्तरगंगा जलविद्युत आयोजना निर्माण प्रक्रियाको विषय, स्थानीय सरकारले गर्न नसक्ने पूर्वाधार विकास लगायत समग्र पश्चिम बागलुङका चारवटै गाउँपालिकालाई जोडने गरि रिङ्रोड निर्माणको विषयमा सझा एजेण्डा निर्माण गर्नुपर्ने बताए ।

यस्तै ढोरपाटन नगरपालिकाका उप—प्रमुख कर्मती पुनले, महोत्सव एक मेलाका रुपमा मात्र हामीले नहेरी समग्र स्थानीय कला संस्कृति, भेषभुषाको प्रवर्धन, संरक्षण र पर्यटन विकाससँग जोडनु पर्नेमा जोड दिईन । उनले महोत्सवसँगै स्थानीय स्तरको विकास निर्माण योजनाहरु संयुक्त रुपमा बसेर निर्माण गर्ने महत्वपूर्ण स्थलसमेत निर्माण भएकाले यो अवसरलाई गुमाउन नहुने बताईन ।

यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दीपक थापाले, ढोरपाटन क्षेत्र प्रचुर संभावनाको क्षेत्र भएकाले त्यसको भरपुर सदुपयोग र संरक्षणबाट आवश्यक लाभ लिन स्थानीय निकायहरुले योजना बनाउनु पर्नेमा जोड दिएका थिए भने नेपाल पत्रकार महासंघ बागलुङका सदस्य लोकेन्द्र सुनारले, संचार माध्यमका तर्फबाट महोत्सव सञ्चालनमा प्रचार प्रसार तथा स्थानीय पालिकासँग समन्वय गरि रचनात्मक सहयोग गर्न मिडियाहरु तयार रहेको खुलासा गरे । उनले त्यसका लागि सहकार्य गर्न आफूहरुले कुनै कसर वाँकी नराख्ने स्पष्ट पारे ।

यस्तै महोत्सव संचालन सचिवालय समितिका सदस्य उत्तमबहादुर महतले, महोत्सव समग्र पश्चिम क्षेत्रको पहिचान भएको भन्दै यसलाई सबैले अपनत्व लिनुपर्ने धारणा राखे । साथै स्थानीय पालिकाले समेत आफ्नो समस्यालाई महोत्सवका सन्दर्भमा आउने राज्यका उच्च पदस्थ व्यक्तित्वसमक्ष राख्ने अवधारणा तय गर्नुपर्ने उनको भनाई थियो ।

ढोरपाटन महोत्सवको सन्दर्भमा आगामी चैत ३० गते प्रधानमन्त्री केपि शर्मा ओली ढोरपाटन आउने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा स्थानीय निकायका प्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारी सहितको संयुक्त टोलीले पश्चिम क्षेत्रका समस्याहरु संबोधन गर्नका लागि आवश्यक मागपत्र ड्राफ्ट गरि बुझाउने कार्यक्रम तय गरिएको छ । सोही माग पत्र बागलुङ जिल्लाबाट संघ तथा प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश तथा संघीय संसदहरु, मन्त्रीहरु र उच्च पदस्थ व्यक्तित्व मार्फत बुझाउने तयारी रुहेको संघका महासचिव रामनारायण सुवेदीले बताए ।

सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमबाटै महोत्सव मुल समारोहका संयोजक चिन्तामणी शर्माको संयोजकत्वमा ९ सदस्यीय साझा मस्यौदा निर्माण समिति गठन गरिएको छ । जस्का अरु सदस्यहरुमा तमानखोला गाउँपलिकाका अध्यक्ष जोकलाल बुढा, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ शर्मा, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, ढोरपाटन नगरपालिकाका उप प्रमुख कर्मती पुन, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य लोकेन्द्र सुनार, ढोरपाटन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दीपक थापा, उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङका महासचिव रामनारायण सुवेदी, महोत्सव सञ्चालन सचिवालय सदस्य उत्तमबहादुर महत रहने छन् ।

बैठकले प्रत्येक गाउँपालिकाका तर्फबाट आएका मस्यौदालाई पुनः एकीकृत गरि अन्तिम स्वरुप निर्माणका लागि तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको संयोजकत्वमा ५ सदस्यीय एकीकृत मस्यौदा निमाण समिति गठन गरिएको छ । यसरी तयार पारिएको माग पत्र आगामी बैशाख १ गते महोतसव उदघाटन गर्न आउने नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि पुष्पकमल दहाल प्रचण्डलाई समेत बुझाइने छ ।

कार्यक्रममा महोत्सव मूल समारोह समितिका उपसंयोजक निमलाल पाण्डेको स्वागत मन्तव्य र सदस्य सचिव रामनारायण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply