बागलुङ २०७३ फागुन ४ । मांसहारीका लागि माछा एकदमै रुचिकर परिकार हो । मासु भन्दा माछा स्वास्थ्यका निम्ति हितकर हुने डाक्टरी सल्लाहाले पनि माछा प्रति धेरैको रुची बढाएको हुन सक्छ ।
बोवाङ गाविस भूजीखोलामा माछा मार्दै एक महिला ।
साधरणत, माछा छोप्न या मार्न जालको प्रयोग गरिन्छ । दुवालो थुनेरपनि माछा मारिन्छ । खोलामा ढडिया, तीप आदि थापेर माछा मार्ने प्रचलन रहेको छ । खोलामा हत्केला खेलेर, बल्छी थापेर त कहिले काँही बम जिलेटिन पड्काएर माछा मारेको पनि देखिन्छ । माछा मार्नेे धेरै माध्यमहरु छन्, ती मध्य अहिले खोलामा विद्युत करेण्ट प्रवाह गरेर माछा मार्ने चलनले व्यापकरुप लिएको छ । कानूनीरुपमा विद्यूत करेण्ट लगाएर माछामार्न नपाईने बन्देज नभएका कारणले पनि साना ठुला नदी नालाहरुका किनारमा चार पाँच जनाको समुहमा मानिसहरु करेण्ट प्रवाह गरी माछा मार्ने गरेका दृश्यहरु प्रशस्तै देख्न सकिन्छ ।
कुस्मीसेराको ठेउले खोलामा साकर (तिप) थापेर माछा मार्दै ।
खोला नालाहरुमा करेण्ट प्रवाह गरी माछा मार्दा मानिसकै मृत्यु भएका घटनाहरु थुप्रै छन् । माछा मार्ने काममा विद्युत करेण्टको प्रवाहबाट एकातिर मानिसकै ज्यान गैरहेको छ भने अर्कोतिर माछाका भूरा समेत स्वाहा हुनेक्रम जारी रहेको अवस्थामा यसको नियन्त्रणमा सरोकारवाला निकायको चासो नदेखिनु चिन्ताको विषय बनेको नागरिक समाजको भनाई छ ।
गल्कोट दरम खोलामा हत्केला खेलेर माछा मार्दै ।
२०४८ साल बैशाख महिनामा बुर्तिवाङ बजार नजिक बाट बग्ने बडीगाड खोलामा माछा मार्न गएका एकजना १७/१८ वर्षका युवक माछासँगै मृत अवस्थामा पानीमा तैरिएको दृश्यले सबैलाई भावविह्वल बनाएको थियो ।
आमा बाबुका एकमात्र सन्तान नवीन शेरचन, बडीगाड खोलामा साथीहरुसंग जेनरेटर लिएर माछा मार्न गएका थिए । माछा मार्न खोलामा पसेका नवीन दैवसंयोग करेण्ट लागेर माछा संगै पानीको सतहमा तैरिन पुगे ।
गल्कोट दरमखोलामा जालबाट माछा मार्दै युवा जलारी ।
बुर्तिवाङ घोसाका नवीन बसाईसराई गरेर धनगढी पुगेका बाबु आमासंग बुर्तिवाङ आएको केहि दिनमात्र भएको थियो, उनको ईहलिला समाप्त भयो ।
यस्तै गत वर्ष २०७२ सालको फागुन ५ गते बुर्तिवाङ गाविससंग जोडिएको अधिकारीचौर गाविसको चामिव्दारमा माछा मार्न गएका बुँगादोभान गाविस-७ का जीप चालक भीमबहादुर विककोे विद्युत करेण्ट लागेर मृत्यु भएको घटनाले त बुर्तिवाङ बजार मात्र नभएर मध्यपहाडी लोकमार्ग नै बन्द हुन पुग्यो ।
उत्तेजित भीडलाई समयमै संझाई बुझाई गरेर समस्या समाधान गरिएको हुनाले अरु अनेपेक्षित घटनाहरु हुन पाएनन् । उता उनको हत्या गरेको भन्ने मुद्दामा ६ जनाले केहि महिना कारागारमा थुनिनु प-यो ।
यी दुई घटनाहरु उदाहरण मात्र हुन् । यस्ता घटनाहरु मुलुकभर भैनै रहेका छन् ।
कालीगण्डकीमा करेण्ट लगाएर माछा मार्दै ।
बागलुङ जिल्लाका विभिन्न खोला, नदी नालाहरुमा विद्युत करेण्ट प्रवाह गरी माछा मार्ने गरेका दृश्यहरु अहिलेपनि देख्न सकिन्छ । बलेवा कुस्मी सेराभएर बग्ने ठेउले खोला, सदरमुकाम नजिकको काठेखोला, गल्कोटको दरमखोलाहरुमा विद्युत करेण्ट प्रवाह गरी माछा मार्ने चलन कायमै छ । गर्दा गर्दा अहिले आएर कालीगण्डकी नदीमा समेत विद्युत करण्ट लगाएर माछा मार्ने अभियान नै सन्चालन भएको छ ।
यहाँ प्रस्तुत ठुलो तस्वीर बागलुङ जिल्लाको विनामारे गाविसको कालीगण्डकी किनारमा करेण्ट लगाएर माछा मार्न लागेको दुई हप्ता पहिले खिचिएको हो ।
तस्वीर- किरण आचार्य, ईबागलुङ ।