कौरव खत्री, गुल्मी २०७४ चैत २६ । नेपाली काँग्रेसका नेता तथा पुर्व उपप्रधान मन्त्री प्रकाशमान सिंहले जनताले बिकास र समृद्धि चाहेको बताएका छन् ।
तेस्रो गुल्मी महोत्सबको समापन समारोहलाइ सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका नेता सिंहले अहिलेका तीन तहका सरकारले जनताका चाहना अनुसारका नीति तथा कार्यक्रम लिन आवश्यक रहेको बताए ।
‘जनताले भाषण गर्न नभइ काम गर्न यो सरकारलाइ जनमत दिएका हुन’ नेता सिंहले भने ‘यो ५ बर्ष सदुपयोग गरी काम नगरे अर्काै ५ बर्षमा जनमत अर्काै पार्टीलाइ जान सक्छ’। उनले सरकारले अहिलेकोे बहुमतलाइ राम्रो अवसरको रुपमा लिन आग्रह गरे ।
सबैको ध्यान विकास र समृद्धि तर्फ रहेको भन्दै उनले आर्थिक बिकासको निम्ती नीजि क्षेत्र र सहकारीलाइ साथै लिएर जानुपर्ने बताए ।
उनले ४६ सालको बहुदलीय ब्यबस्था पछि नेपाली काँग्रेसले लिएको खुला अर्थनीतिका कारण १० बर्षको सशस्त्र द्वन्द्व र राजनीतिक संक्रमण कालको अवस्थामा पनि मुलुकको अर्थतन्त्र नकारात्मक अवस्थामा नपुगेको बताए । उनले उद्योग ब्यापार मुलुकको आर्थिक बिकास सँग सम्बन्धित भएका कारण नीजि क्षेत्र र सहकारी क्षेत्रलाइ साथमा लिनु जरुरी रहेको बताए ।
‘अहिले आर्थिक अवस्था स्थिर छ’ नेता सिंहले भने ‘यो समयमा अरु कुरामा ध्यान नदिइ, पुर्वाधार विकास, खानेपानी, कृषि, स्वास्थ्य क्षेत्रमा केही बढी मिहेनत गरे समृद्धिको सपना साकार हुनेमा कसैको पनि दुइ मत छैन’ ।
उनले गुल्मी जिल्ला बिभिन्न सम्भावनाहरुले भरिपुर्ण भएको भन्दै सम्भावनाहरुलाइ उपलब्धिमा परिणत गर्न सझाव दिए ।
‘गुल्मीमा धेरै सम्भावनाहरु छन’ नेता सिंहले भने ‘सम्भावनालाइ सम्भावनामा मात्र सीमित नगरी काम गरेर देखाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सक्नुपर्दछ’ ।
नेता सिँह स्थानीय स्तरका लोप हुन लागेको बस्तुहरुको प्रबद्र्धन गर्नमा यस्ता महोत्सबहरु निकै महत्वपुर्ण भएको बताएका छन ।
तेस्रो गुल्मी महोत्सव सम्पन्न
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको तेस्रो गुल्मी महोत्सव सम्पन्न भएको छ ।
उद्योग बाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव गत १६ गतेबाट सुरु भएकोे थियो ।
सदरमुकाम तम्घासमा ११ दिन सम्म चलेको महोत्सवमा गुल्मीमा उत्पादित बिभिन्न कृषि जन्य सामाग्रीहरुलाई मुख्य प्रथामिकता दिँदै ढिकी, जाँतो, कोल घुमाएर चिउरीको घिउ निकाल्ने, उखु पेल्ने, लगायत लोप हुन लागेका बिभिन्न पुराना सामाग्रीहरु प्रर्दशनमा राखीएका थिए ।
१ लाख दर्शकद्धारा अवलोकन, ६ करोडको कारोवार ।
महोत्सवमा करिव १ लाख दर्शकले अबलोकन गरेको आयोजकले जनाएको छ । भने कुल ६ करोड भन्दा वढीको कारोबार भएको बाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
महोत्सवको अबसरमा बिभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिएको थियो ।
वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बर्धन गर्ने, परम्परागत भेषभुषाहरुलाई उजागर गर्ने उदेश्य राखीएको थियो ।
जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरीसमग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए ।
महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ,माछा,लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँइएको थियो ।
महोत्सवमा २ सय ८० स्टल रहेका थिए । कुल स्टल मध्ये ४० वटा स्टलहरुमा कृषि जन्य उत्पादित सामाग्रीहरु तथा बिउ बिजनहरु,बाँस तथा निगालो,सेरामिक्सबाट बनेका सामाग्रीहरु राख्न आयोजकले निशुल्क प्रदान गरेको स्टल संयोजक बाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिए ।
बाँकी स्टलहरुमा औधोगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरु,कपडा राखिएको थियो । महोत्सवबाट जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए ।
महोत्सवमा थप आकर्षक बनाउनको लागी भन्दै २ दिन सम्म हेलिकप्टरको व्यवस्था गरिएको थियो । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने व्यबस्था मिलाइएको बाणिज्य संघ गुल्मीका पूर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन गरेका काम गरिएको थियो । तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदान प्रयोग भएको थियो ।
चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिएको थियो ।
महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिएको थियो । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन गत चैत्र १७ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवाललीले गरेका थिए ।