Sorry, that menu does not exist.
 

यस्तो छ, ढोरपाटन महोत्सवको समय तालिका, बैशाख १ गते उदघाटन, २ गतेबाट प्रतियोगिता सुरु !

प्रशान्त घर्तीमगर, बागलुङ २०७४ चैत २७ । नयाँ वर्षसँगै बुर्तिबाङमा सञ्चालन हुने ढोरपाटन महोत्सव—२०७५, बुर्तिबाङमा आयोजना गरिएको कार्यक्रमहरुको समय तालिका आज सार्वजनिक गरिएको छ ।

बागलुङ उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङको आयोजना, मुख्य प्रवर्धक ढोरपाटन नगरपालिका कार्यालय तथा अरु तीन स्थानीय गाउँपालिकाहरु तमानखोला, बडिगाड तथा निसीखोला गाउँपालिकाको समेत संयुक्त सह आयोजनामा सञ्चालन गरिने महोत्सवमा विभिन्न १२ वटा प्रतियोगीताहरु सञ्चालन हुने भएका छन् । महोत्सवमा आयोजित सबै प्रतियोगीतात्मक कार्यक्रमका लागि यस अघि नै संयोजक र उपसंयोजकको नाम चयन भइसकेको मूल आयोजक संयोजक चिन्तामणी शर्माले बताए । बैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने महोत्सवको पूर्व तयारी तीव्र पारिएको बेला मूल आयोजक समितिले प्रतियोगिता सञ्चालनका लागि आज समय तालिका सार्वजनिक गरेको हो ।

समितिले दिएको जानाकारी अनुसार कार्यक्रम सुरु तथा उदघाटन कार्यक्रम बैशाख १ गते दिउँसो १ वजे पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने तालिका रहेको छ । उक्त दिन बागलुङ जिल्लाबाट, राष्ट्रिय सभा, संघीय संसद तथा प्रदेश सभा संसदमा निर्वाचित एवं मनोनित सभासदहरुलाई एकै मञ्चमा ल्याउने कार्यक्रम तय भएको संयोजक शर्माले बताए ।

यसैबीच खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीताका लागि बैशाख १ गते दिउँसो ४ वजेसम्म नाम दर्ता गरिसक्नु पर्ने निर्णय भएको छ । प्रतियोगीता बैशाख २ गते विहानबाट सञ्चालन हुने खेलकुद संयोजक घनश्याम चालिसेले बताए । ४ नं. प्रदेश स्तरको व्याडमिन्टन प्रतियोगीता र ताराखेल प्रतियोगीता बैशाख ३ गतेबाट सञ्चालन हुने छ जस्को लागि नाम दर्ता बैशाख २ गते दिनको ४ वजेसम्म गरिसक्नु पर्ने छ । सिएच आइटिएफ प्रतियोगीता बैशाख ४ बाट सञ्चालन हुने छ । उक्त प्रतियोगीतामा दशभरका ३६ जिल्लाबाट करिव ५ सय खेलाडि सहभागी हुने बताइएको छ ।

यस्तै महोत्सवमा आयोजना गरिएको खुल्ला लोक दोहोरी गीत प्रतियोगीता बैशाख ३ गते ४ वजेसम्म नामदर्ता समय तोकिएको छ, दोहोरीगीत प्रतियोगीता बैशाख ४ गतेबाट सञ्चालन हुने छ । उता खुुल्ला पञ्चेवाजा प्रतियोगीताको नाम दर्ता बैशाख १ गते नै गरिने छ । त्यसका लागि प्रतियोगीता २ गतेबाट सञ्चालन हुने जनाइएको छ । खुल्ला रस्साकस्सी प्रतियोगीताको बैशाख ४ गते नामदर्ता र ५ गते खेल सञ्चालन हुने बताइएको छ ।

महिला÷पुरुष छेलो प्रतियोगीता बैशाख ४ गते नामदर्ता गरि बैशाख ५ गतेबाट प्रतियोगीता सञ्चालन गरिने भएको छ भने विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीताका लागि बैशाख ४ गते नाम दर्ता, प्रतियोगीतामा सहभागी हुनेले “पर्यटन प्रवर्धन, सुशासन र दीगो विकास ः नयाँ नेपाल निर्माणको आधार”, “युवा जनशक्ती पलायनको रोकथाम ः स्थानीय स्वरोजगारको प्रवद्धर्न र सीपमूलक काम” तथा “आर्थिक समृद्धि र विकासमा हाम्रो नयन, नयाँ प्रविधिक व्यवसायको चयन” विषयमा बोल्नु पर्ने नियम बनाइएको प्रतियोगीता सञ्चालन संयोजक उत्तमबहादुर महतले बताए ।

यस्तै खुल्ला हाजिरीजवाफ प्रतियोगीता बैशाख ४ गते नाम दर्ता गरिने कार्यक्रम छ भने, खुल्ला कविता प्रतियोगीताका लागि कविताको शीर्षक “पर्यटन प्रवद्र्धन, प्राकृतिक स्रोत र सँस्कृतिको संरक्षरण तथा आर्थिक समृद्धिसंग सम्बन्धित भएर कम्तिमा २ ओटा शीर्षकमा कविता सिर्जना गर्नु पर्ने बताइएको छ । प्रतियोगीतामा समावेश हुने कविता वढीमा ५ मिनेटमा वाचन गरि सक्नुपर्ने नियम बनाइएको छ । प्रतियोगीताका लागि बैशाख ३ गतेसम्म नाम दर्ता गरिसक्नु पर्ने बताइएको छ ।

७ दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि उपज पर्दशनी, , हस्तकला÷शिल्पकला, झाँकी पर्दशन , उँट नृत्य प्रदर्शन, अष्ट्रिज चरा प्रदर्शन तथा रमाइलो मेला, झुला र मौतका कुवा लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply