डम्मर बुढा मगर, बुर्तिबाङ, २०७४ चैत ४ । पश्चिम बागलुङको बुर्तिबाङमा संचालित प्रथम ढोरपाटन महोत्सवको आज चौँथो दिन पनि भव्यताका साथ मनाईएको छ ।
आजको साँगीतिक कार्यक्रममा जनगायक जीवन शर्मा, लोक तथा दोहोरी गायक शिव हमाल, गायक राजेन्द्र बजगाइ, महिमा श्रेष्ठ, संचारकर्मी सुमन सुनार लगाएतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दर्शकहरुलाई छमछमी नचाएका थिए ।
जनगायक जीवन शर्माको सांगीतिक प्रस्तुतिमा बयोबृद्धहरुले पनि नाँचेर सहभागिता जनाएका थिए भने संगीतप्रेमी लोकेन्द्र सुनारले पनि मन्चमा कलाकारहरुसँग नाँचेर कार्यक्रमलाई रोचक बनाउन सघाएका थिए ।
आजको साँगीतिक प्रस्तुतिमा बुटवलकी हास्य कलाकार मीना पराजुलीले हास्यव्यँग्य कार्यक्रम प्रस्तुत गरेर दर्शकहरुलाई हसाउन सफल भएकी थिईन् । पराजुली पुर्खाको वेदनामा आमाको भूमिकामा अभिनय गरेकी थिईन् ।
महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको हेलिकप्टर उडान मार्फत ढोरपाटन तथा बुर्तिबाङ क्षेत्रको अवलोकन गर्ने कार्यक्रममा हिँजो र आज गरी २ दिनमा ५६ जनाले बुर्तिबाङ क्षेत्र तथा ढोरपाटन क्षेत्रको अवलोकन गरेका छन् ।
हेलिकप्टरबाट बुर्तिबाङ क्षेत्र अवलोकन गरेको ५ हजार र रमणिय क्षेत्र ढोरपाटनको अवलोकन गरेको १० हजार शुल्क आयोजकले तोके पछि हेलि मार्फत ढोरपाटन तथा बुर्तिबाङको अवलोकन गर्नेहरुको भिड लागेको संयोजक रितुवर्ण पौडेलले जानकारी दिए ।
हेलिकप्टरमा ढोरपाटन नगरपालिका–१ का ९४ वर्षिय मनबहादुर लोप्चनले समेत ढोरपाटनको अवलोकन गरेका थिए । अवलोकनको पहिलो दिन हिँजो २४ जना र आज ३२ जनाले ती क्षेत्रको अवलोकन गरेको आयोजकले जनाएका छन् ।
बुर्तिबाङ क्षेत्रको भन्दा ढोरपाटन क्षेत्रको अवलोकन धेरैले गरेका थिए । ढोरपाटनको अवलोकन ३२ जनाले गरेका थिए भने बुर्तिबाङको अवलोकन जम्मा २४ जनाले मात्रै गरेको संयोजक पौडेलले जानकारी दिए ।
त्यसैगरी महोत्सवको आज चौथो दिन पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । भलिबल खेलमा ८ समूहले सहभागिता जनाएईको छ । आज भएको पहिलो चरणको खेलमा तमानखोल गाउँपालिकालाई पराजित गर्दै निसीखोला गाउँपालिका–२ जुग्जाखोला अघिल्लो चरणमा प्रवेश गरेको छ ।
त्यसैगरी आजैदेखि दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । दोहोरी गीत प्रतियोगितामा ३ समूहले सहभागिता जनाएको छ । सो अवसरमा कृषि प्रदर्शनी तथा अन्य साँकृतिक कार्यक्रमहरु समेत भएको थियो । महोत्सव यही बैशाख ७ गतेसम्म सञ्चालन हुने आयाजकले जनाएको छ ।