बागलुङ २०७५ बैशाख ८ । बुर्तिवाङ बजारमा आयोजित ‘प्रथम ढोरपाटन महोत्सव-२०७५’ ऐतिहासिक रुपमा सम्पन्न भएको छ । ढोरपाटन महोत्सव दुईचार कुरा छोडेर बाँकी सबै राम्रै भएको धेरेको ठहर छ ।
पहिलो कुरा त, साबिक बोवाङ गाविसको वडा नं ९ को मात्र ढोरपाटन हो भन्ने मानसिकतालाई दरकिनार गर्न महोत्सव सफल भएको छ ।
दोश्रो कुरा, बुर्तिवाङ बजारमा आयोजित पहिलो ढोरपाटन महोत्सव २०७५ ले जिल्लास्तरमा आयोजना गरिने महोत्सवलाई मात त दियो नै अन्य जिल्लाहरुमा आयोजना गरिने कुनै पनि महोत्सव भन्दा कम नभएको पहिचान दिन सक्यो ।
सम्पन्न ढोरपाटन महोत्सवमा दलीय भावनाको प्रादुर्भाव नहुनु महोत्सवको तेश्रो सफलता मानिएको छ । महोत्सव सम्पन्न बनाउन सबै राजनीतिक दल, संघ संस्था निकाय, सर्वसाधारण सबैको समन्वयात्मक भावको ज्वलन्त उदाहरण बन्यो ढोरपाटन महोत्सव ।
महत्वपूर्ण कुरा त, ढोरपाटन महोत्सवले निसीभूजी क्षेत्रको मात्र नभएर बागलुङ जिल्लाकै सर्वाधिक चासो रहेको ढोरपाटनमा निर्माणाधीन (हाल रोकिएको) उत्तरगंगा जलाशययुक्त जलविद्युत परियोजना बागलुङ जिल्लामा नै निर्माण गरिनु पर्ने सन्देश टड्कारोरुपमा प्रस्तुत गरेर सरोकारवालाहरुको ध्यानाकर्षण गर्न सक्यो ।
पुरुष महिला भलिबल प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, ताराखेल अनि रस्साकस्सी प्रतियागिता, लोकदोहोरीगीत प्रतियोगिता, पन्चेबाज प्रतियोगिता, लोपोन्मुख घाटुनाँच प्रदर्शन, विभिन्न विधाका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, नाममात्रको भएपनि कृषि प्रदर्शनी र स्थानीयरुपमा उत्पादित बस्तुहरुको प्रदर्शन, हेलिकप्टरबाट दृश्यावलोकन लगायत यस क्षेत्रमा देख्न नपाईने अस्ट्रिज चरा र उँटको प्रदर्शन, चर्खेपिङ, व्यापारिक स्टलहरुको व्यवस्थालाई हेर्दा महोत्सवका सबै तत्वहरु विद्यमान थिए ।
बागलुङ जिल्लाका केहि नाम चलेका लोक गायकहरुले यस महोत्सवमा आफ्नो साँगीतिक प्रस्तुति दिने मौका नपाएपनि राष्ट्रिय मानिएका कलाकारहरु र स्थानीय चर्चित कलाकारहरुले भने आफ्नो बेजोड प्रस्तुति पस्केर दर्शकहरुलाई भरपूर मनोरंजन दिएका थिए । खासगरी महोत्सव समापनको पूर्व सन्ध्यामा चर्चित हास्यकलाकार मनोज गजुरेलको प्रहशनले भने आम दर्शकहरुलाई पेटमिचीमिची हाँस्न बाध्य बनायो । जस्का केहि तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ ।
आखिरमा भन्नु पर्दा, महोत्सवका सबै तत्वहरुको समिश्रणका बावजूद पनि ढोरपाटन महोत्सव २०७५ ले महोत्सव माने गाउने, नाँच्ने, हँसाउने … हो भन्ने छापलाई निप्ट्यान्न पार्न भने सकेन । सायद, समयको माग पनि यहि भएरै हो कि ?
तस्वीर- झरना कँडेल, बुर्तिवाङ ।
ताकि सनद रहोस : महोत्सव माने गाउने, नाँच्ने, हँसाउने … !
२०७५ बैशाख ८, शनिबार ०८:४४
Footer Slider, Top News, अन्य समाचार, मनोरञ्जन, विविध
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०