टिकाराम भट्टराई, बुर्तिबाङ २०७५ बैशाख ९ । ढोरपाटन नगरपालिका वडा न १ बुर्तिबाङ बजारको ढल निर्माणको जिम्मा लिएको ठेकदार कम्पनि निर्माण कार्य बीचमै छोडेर सम्पर्क विहीन बनेपनि ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीको बारम्बारको ताकेता पछी स्थानीयबासीको पहलमा ढल निर्माण कार्यले तिब्रता पाएको छ ।
धुलिखेल आद्रेय जे.बीका प्रमुख टङ्क चौलागाईले २०७३ असार ३ मा बहुबर्षीय खरिद गुरुयोजना बमोजिम २०७४ असार मसान्त सम्ममा निमार्ण कार्य सक्ने गरी ठेक्का सम्झौता गरेका थिए । तर केहि समय कार्य गराई विभिन्न बाहाना बनाई सम्पर्क बिहीन बनेपछि निमार्ण कार्य प्रभावित बनेको बुर्तिबाङ नयाँ सहर आयोजना प्रमुख प्रविन अधिकारीले ईबागलुङलाई बताए ।
ठेकेदारको लापरवाहीकै कारण आएको बजेट समेत खर्च नभइ फ्रिज हुनुले नयाँ सहर आयोजना प्रति स्थानियले हेर्ने दृष्टिकोण नै फरक बनेको समेत अधिकारीले बताए । साथै उनले पहिलेको ठेक्कालाई रोक्का गरिसकेको बताउदै उक्त विनियोजित रकम काम सम्पन्न भएपश्चात भुक्तानी हुने बताउदै अन्य स्थानको निमार्ण कार्य समेत यहि बर्षको असार मसान्त भित्र सक्ने लक्ष्य रहेको बताए ।
बुर्तिबाङ बजारमा धेरैजसो सडकहरुमा धाराहरुबाट बगेको पानीले यात्रु तथा स्थानियहरुलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै स्थानिय बजारबासी नागरिकहरुकै सक्रियतामा आर्थिक संकलन गरि बजारका विभिन्न स्थानमा ढल निकासको कार्यलाई तिब्र पारिएको हो ।
बुर्तिबाङ बजारको स्वामीबोट लाहुरे किराना पसलदेखि गिरि किराना पसलसम्म, सुबेदी पाउरोटी उद्योग देखि बसपार्क सम्म, प्रशासन लाईन संगमचोक देखि जिम्माल रेष्टुरेण्ट हुदै लक्ष्मीमार्ग दलबहादुर भण्डारीको नव निर्मित भवनसम्म स्थानिय समितिकै सक्रियतामा ढल निकासको कार्य तिब्र पारिएको हो ।
यस्तै स्वामीबोटको गिरि किराना पसल देखि पाण्डे बाक्सा उद्योग हुदैँ लक्ष्मीकुण्ड खोलासम्म, यामु पौवीको घरदेखि शान्तिटोल ढोरपाटन अपसेट प्रेस हुदैँ भगवती मन्दिर अगाडि सम्म, बुर्तिबाङ बसपार्क देखि न्युरोड हुदँै तारीखेत जाने पुलसम्म, सिनेमा रोडदेखि देवचोकसम्मको ढल निकासको कार्य निर्माणाधिन अबस्थामा रहेको छ ।