इलाम, २०७५ बैशाख १५ ।देशभरका सहकारी संघ संस्थाहरुको प्रवद्र्धनका क्षेत्रमा क्रियाशिल राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ संस्थाहरुसंगको अन्तरक्रिया कार्यक्रम शनिवार इलाममा सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति इलामका संयोजक गणेश बरालले राज्यले लिएको समृद्धिको अभियानलाई सफल पार्नका लागि सहकारी सबै भन्दा उत्तम विकल्प भएको दावी गरे । देशको विकासका लागि कृषि, पर्यटन, जलस्रोत लगायतका सेतहरुको परिचालनमा जोड दिदै उनले त्यसको समुचित विकासका लागि सहकारीलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
राजनीतिक क्रान्ति सकिएको र सबै राजनीतिक दलहरु समृद्धिको अभियानमा जुटेको वर्तमान अवस्थामा समृद्ध समाज निर्माणका लागि राज्यले विपन्न वर्गका लागि विनियोजन हुने बजेट सहकारी बैंक मार्फत सहकारी संघ संस्थाहरुमा पु¥याउन सके लक्षित वर्ग लाभान्वित हुने धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सहकारी बैंक निरन्तर रुपमा क्रियाशिल रहेको बताए ।
सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहाल, बैंकका सञ्चालक सरिता भट्टराई, जिल्ला सहकारी संघ इलामका पूर्व अध्यक्ष विष्णु दाहाल, वचत तथा ऋण सहकारी संघ इलामका अध्यक्ष लिलाप्रसाद थापा, दुग्ध सहकारी संघ इलामका अध्यक्ष हेमप्रसाद कट्टेल, इलाम नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तिर्थ गुरुङ, कृषि सहकारी संघका सञ्चालक प्रसाद दुलाल, समृद्ध पहाड नेपालका प्रतिनिधि सुनिल पौडेल लगायतले समृद्धिका लागि सहकारी अभियानलाई प्रभावकारी बनाउन सहकारी मैत्री नीति नियम बनाउने तथा सहकारीमार्फत उत्पादन, प्रशोधन र बजारीकरणका कार्यक्रमहरु अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको परिचय, वर्तमान अवस्था र आगामी कार्ययोजनाका बारेमा बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।
बैंकले सदस्य सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने सेवा सुविधा र थप प्रभावकारिताका विषयमा सहभागीहरुले सुझाव तथा जिज्ञासा राखेका थिए ।
राज्यले गरिवी निवारण र युवा स्वरोजगारको क्षेत्रमा लगानी गर्ने बजेट सहकारी बैंकमार्फत परिचालनका लागि पहल गर्न, उत्पादन र सेवा क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई वित्तीय लगायत प्रविधिको क्षेत्रमा सहयोग गर्न तथा सहकारीमैत्री नीति नियम निर्माणका लागि समन्वय गर्न सहभागीहरुले सुझाव दिएका थिए ।
कार्यक्रमको सञ्चालन बैंकका सहायक प्रवन्धक मोहन कार्कीको सञ्चालन र इलाम शाखाका प्रमुख अर्जुन कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।
सोही अवसरमा बैंकमा उत्कृष्ट कारोबार गर्ने सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । आर्थिक वर्ष २०७३÷०७४ मा इलाम शाखामा उत्कृष्ट कारोबार गर्ने शताब्दी वचत तथा ऋण सहकारी संस्था इलाम र नियमित कारोबार गर्ने नरी विकास बहुउद्देश्यीय सहकारी संस्था इलामलाई प्रमुख अतिथि बरालले सम्मान गरेका थिए । कार्यक्रममा इलाम जिल्लामा क्रियाशिल १ सय २० भन्दा बढी सहकारी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।