राम सुवेदी, बुर्तिवाङ २०७५ बैशाख १८ । बागलुङको ढोरपाटन नगरपालिकाको उत्तरगंगा नदीलाई निसीखोला गाउँपालिकामा सुरुङ मार्फत खसालेर निर्माण गरिने भनिएको, उत्तरगंगा जलाशययुक्त विद्युत आयोजना ८ सय २८ मेगावाट सञ्चालन प्रक्रियामा आएको अवरोधका विषयमा आज ढोरपाटन नगरपालिका बुर्तिबाङ बजारमा (फिल्म हल) अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
उत्तरगंगा जलाशययुक्त आयोजना सरोकार तथा सहयोग समितिको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आयोजनाको काम अघि बढाउन ढोरपाटन नगरपालिकाको मुख्य दायित्व रहेको भन्दै पछि नहट्न नगरपालिकालाई आग्रह गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुनमगर साँसद ज्ञान कुमारी छन्त्याल तथा अन्य वडाका जनप्रतिनिधि सम्मिलित कार्यक्रममा बोल्ने विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनैतिक पार्टी प्रतिनिधि तथा स्थानीय सरोकारवाला सर्वसाधारणले यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै सांसद छन्त्याल, नगरप्रमुख नेपालीले यस्तो अन्तरक्रिया कार्यक्रम स्थानीय निकाय जनप्रतिनिधीहरु संगको समन्वयमा गर्नु राम्रो हुने बिचार व्यक्त गर्दै उत्तरगंगा जलाशययुक्त विद्युत परियोजना बागलुङमा निर्माण गर्न सबै मिलेर अगाडी बढ्नुको बिकल्प नभएको बताएका थिए ।
गत चैत ३० गते प्रधानमन्त्रीसंग ढोरपाटन आएका पूर्व मन्त्री जनार्दन शर्माले यो योजना रोक्नमा आफ्नो कुनै भूमिका नभएको बताएको चर्चा समेत अन्तरक्रियामा भएको श्रोतले बतायो ।
उत्तरगंगा जलविद्युत आयोजना सिधै सञ्चालनमा ल्याइयोस् भन्दै, सरोकार तथा सहयोग समितिले स्थानीय स्तरमा स्थानीय जनप्रतिनिधि, प्रदेश तथा संघीय साँसद सहित सेवा प्रदायक स्थानका जनतासँग जानाकारी दिने उद्देश्यका साथ यो अन्तरक्रिया गरेको सरोकार समितिका संरक्षक एवं पूर्व साँसद परी थापाले बताए ।
अन्तरक्रियामा ढोरपाटनको उत्तरगंगा नदीलाई जलाशययुत्त बनाउँदा ढोरपाटनको नबीसम्म डुवानमा पर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ । निसेलढोरको गावाबाट ८ किलोमिटर सुरुङमार्गहुँदै उत्तरगंगा नदीको पानीलाई निसीखोला गाउँपालिकाको वडा नं. ५ सौराखर्कमा १ हजार ३ सय ६५ मिटरको हाइटबाट खसाल्दा ८ सय २८ मेगावाट क्षमताको विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको ईञ्जिनियर हरिकृष्ण धितालले जानकारी दिए ।
सहयोग तथा सरोकार समितिका तर्फबाट आयोजनाको काम गर्दै /
ईञ्जिनियर धितालका अनुसार, निसीमा दुईवटा पावरहाउस रहने छन् भने सोही पानी सुरुङमार्फत निसीखोलाको जुग्जाखोलामा १ सय २७ मेगावाट, निसीखोलाकै पाखुतेमा बुर्तिबाङलाई लक्षित गरि १४३ मेगावाट, बडीगाडको भिङगीठेमा ७२ मेगावाट र गुल्मीको मजुवामा ४०० मेगावाट क्षमताको सुरुङमार्ग मार्फत नै थप विद्युत उत्पादन हुने गरि प्रारम्भिक अध्ययन भएको ईञ्जिनियर धितालले अन्तरक्रिया कार्यक्रममा बताए । यसो गर्दा उत्तरगंगा जलाशययुक्त आयोजनाबाट १६०० मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने उनको भनाई छ ।
सहयोग तथा सरोकार समितिका तर्फबाट आयोजनाको काम गर्दै /
२०३८ सालमा जापानिज संस्था जाइकाको एक अध्ययन उत्तरगंगामा जलाशययुक्त विद्युत आयोजना बन्न सक्ने प्रतिवेदनका आधारमा नेपाल सरकारले २०६१ सालदेखि सरकारी तवरबाट विद्युत निर्माणका विषयमा आन्तरीक अध्ययन थालेको पाईन्छ । योजना सम्पन्न गर्नका लागि १ खर्ब ७० अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले बताएको सरोकार समितिका अध्यक्ष एवं अन्तरक्रिया कार्यक्रमको सभापतित्व गरिरहेका पूर्ण बहादुर घर्तीको भनाई छ ।
आयोजनाका प्रत्यक्ष सरोकार राख्ने सेवा प्रदायक स्थान निसी र बोबाङका जनताले के कति लगानीमा हैसियत राख्ने भन्ने विषयमा डिटेल सर्बेपछि मात्र संझौता हुने देखिए तापनि समग्रमा बागलुङ जिल्लाका जनताले भने कुल लगानीको १० प्रतिशत शेयर लगानी गर्न पाउने प्रावधान भने सुरक्षित रहेको घर्तीको भनाई छ । उनका अनुसार हालको लागतको १० प्रतिशतले पनि बागलुङका जनताले १७ अर्व रुपैयाँ लगानी गर्नपाउने छन् ।
ढोरपाटनमा बन्ने भनिएको उत्तरगंगा जलाशययुक्त विद्युत आयोजना निर्माणको प्रक्रिया रोकिनुमा पूर्व उर्जामन्त्री समेत रहेका जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको व्यक्तिगत लाभहानी मूख्य कारक तत्व रहेकोे सरोकार समितिले कार्यक्रममा वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
सरोकार समितिले आयोजनाको काम किन रोकेर राखेको भन्ने प्रश्नमा, कार्यकारी निर्देशक कुलमान घिसिङले जनार्दन शर्माले रोक्न लगाएको जवाफ दिएको प्रतिवेदनमा भनिएको छ । यसको कारण उत्तरगंगा नदी बग्ने क्षेत्र रुकुमको सानीभेरी प्रथम ४४ दशमलव ५२ मेगावाट, सानीभेरी दोस्रो २२ दशमलव ३१ मेगा वाट, सानीभेरी तेस्रो ४३ मेगावाट, भेरी तेस्रो ४ सय ८० मेगावाट र भेरी चौथो ४ सय मेगावाट बनाउन प्राथमिकता दिनुपर्ने भएकाले उत्तरगंगालाई रोकेर राखिएको कुरा प्रष्ट भएको उल्लेख छ । यता प्राविधिक अध्ययन अनुसार उत्तरगंगा नदीबाट ३ दशमलव ५२ क्यूसेक पानी निरन्तर बगाइराख्दा माथि उल्लेखित योजनाहरु कुनैपनि प्रभावित नहुने स्पष्ट उल्लेख छ ।
२०६१ सालबाट गरिएको प्रारम्भिक अध्ययनका आधारमा नेपालकै उत्कृष्ठ र सस्तो वजेटमा उत्पादन हुन सम्भव मानिएको उत्तरगंगा जलाशययुक्त विद्युत आयोजनाको काम नेपाल विद्युत प्राधिकरणमा अहिले रोकेर राखिएको छ ।
यसका साथै, खैरेनीदेखि पूर्तिघाटसम्म ११ किलोमिटर सुरुङ बनाएर हिउँदको समयमा कालिगण्डकी ए मा पानीको वहाव बढाउँदा १४४ मेगावाट विद्युतलाई नियमित बनाउन ठूलो मदत पुग्ने समेत सर्वेक्षणले जनाएको छ ।
आयोजना सम्पन्न भएमा ८ सय २८ मेगावाटबाट २४ घण्टामा प्रतियुनिट १२ रुपैयाँका दरले पनि २३ करोड, ८४ लाख, ६४ हजार आम्दानी दिनसक्ने सर्वेक्षणमा उल्लेख छ ।
यसरी उत्तरगंगा जलाशय युक्त आयोजना निर्माण पछि यहाँका स्थानीय जनतादेखि समग्र बागलुङ जिल्लाका जनताको आर्थिक समृद्धिसँगै ४ नं. प्रदेशकै आर्थिक स्रोतको केन्द्रका रुपमा आयोजनालाई हेरिएको छ । आयोजना निर्माण पछि ३ वर्षमा सबै लगानी उठाउन सक्ने समेत विद्युत उत्पादनसम्बन्धी जानाकारहरुले राय व्यक्त गरेका छन् ।
एसियाकै उत्कृष्ठ र सस्तो मुल्यमा निर्माण हुने भनिएको उत्तरगंगा जलाशययुक्त विद्युत निर्माणको प्रक्रिया थालिएको भएता पनि पछिल्लो समयमा नेपाल विद्युत प्राधिकरण व्यवस्थापन विभागले आयोजनाको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन बाहेक अन्य कामहरुलाई ६ महिना यता रोकेर राखेको छ । आयोजनाले २०७५ असार २८ भित्र सम्भाव्यता अध्ययन पुरा गरेको आधारमा सञ्चालन अनुमतिपत्र प्राप्त गर्नुपर्नेमा हाल काम राकेर राखेको अवस्थामा आगामी असार २८ भित्र अनुमतिपत्र प्राप्त गर्न नसके, आयोजनाको काम स्वतः रद्द हुने र अरु कुनै माफियाको हातसम्म पुग्ने खतरा रहेको भन्दै अन्तरक्रिया गर्नुपरेको नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक एवं प्राविधिक सल्लाहकार शिव बालक गिरीले बताए ।
स्मरणीय छ, सरोकार समितिले गत २०७४ साल पुस २३ गतेको मितिमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशकका नाममा आयोजनाको काम रोकिएको सन्दर्भमा लेखेको पत्रमा यस आयोजनाको सर्वेक्षण अनुमति पत्रको अन्तिम म्याद २०७५ असार २८ गतेसम्म मात्र रहेको कुरा हामीभन्दा यहाँलाई विदितै छ । त्यस समय सीमाभित्र आयोजनाको सम्भाव्यता अध्ययन सिध्याइसक्नु पर्ने हुन्छ । तर आयोजनाको अनुमतिपत्र खारेज हुन सात महिनाको अवधि बाँकी रहँदासम्म पनि सम्भाव्यता अध्ययन अन्तर्गत आयोजनास्थल (Site) मा हुने कार्यहरू रोकिएका छन् । जलाशययुक्त आयोजनाको मुख्य आधार भनेकै भौगर्भिक अध्ययन (Geological Investigation) हुने भएकोले यस आयोजनामा सो काम नै अगाडि बढाइएको छैन । सो कुरा २०७४ मंसिर ०१ गतेदेखि अहिलेसम्म प्राधिकरण व्यवस्थापनको निरन्तर प्रयत्न र समितिले गर्दै आएको पटक पटक अनुरोधका बाबजूद पनि विद्युतगृह (Power House) को ड्रिलिङ मेशिन आयोजना स्थलमा नलगिएकोबाट प्रष्ट देखिएको छ । उपर्युक्त कारणले गर्दा आयोजनासँग सम्बन्धित सम्भाव्यता अध्ययन (Feasibility Study) अन्तर्गतका (Drilling), वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन, सुरुङ परीक्षण (Test Adit) खन्ने तथा परामर्शदाता नियुक्ती, विस्तृत आयोजना प्रतिवेदन (DPR)को तयारी, उत्पादन अनुमतिपत्र (Generation Lisence) लिने, साइट कार्यालय खोल्ने, पहुँचमार्ग निर्माण, कर्मचारी तथा परामर्शदाताको लागि आवाशगृह निर्माण र दक्ष जनशक्ति तथा साधनश्रोत जुटाउने आदि जस्ता कार्यहरू रोकिएका छन् । हरेक प्रदेशमा एउटा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार प्रदेश नं. ४ मा यही एउटा मात्र उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना रहेको सर्वविदितै छ । तर दुःखको कुरो देशकै उत्कृष्ट आयोजनाहरूमध्येको राष्ट्रिय गौरवको यस महत्वपूर्ण आयोजनालाई नेविप्राले प्रभावकारी रुपमा अगाडि बढाउन सकिरहेको छैन । अतः राष्ट्रको ऊर्जा आवश्यकता र स्थानीय जनताको आकांक्षालाई मध्येनजर राखी तत्काल द्रुतगतिमा आयोजनालाई अगाडि बढाउन गम्भीर ध्यानाकर्षण गराइएको छ । देशको हित र जनताको भावनाविपरित हुनगएमा त्यसबाट उत्पन्न हुने परिणामको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले नै बहन गर्नुपर्ने जानकारी गराइन्छ ।
(पूर्णबहादुर घर्तीमगर)
अध्यक्ष, उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना सरोकार तथा सहयोग समित।
बोधार्थ : १. माननीय उपप्रधानमन्त्रिज्यू, ऊर्जा मन्त्रालय, सिँहदरबार, काठमाडौं । २. श्रीमान् सचिवज्यू, ऊर्जा मन्त्रालय, सिँहदरबार, काठमाडौं । ३. श्रीमान् उपकार्यकारी निर्देशकज्यू, इञ्जिनियरिङ सेवा निर्देशनालय, नेविप्रा, केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौं । ४. श्रीमान् निर्देशकज्यू, आयोजना बिकास बिभाग, नेविप्रा, केन्द्रीय कार्यालय, दरबारमार्ग काठमाडौं । ५. श्रीमान् प्रबन्ध सञ्चालकज्यू, उत्तरगंगा पावर कम्पनी लिमिटेड, दरबारमार्ग, काठमाडौं ।
प्राधिकरणले आयोजनाको काम रोकपनि सरोकार समितिले आफ्नै तर्फबाट आयोजनाको नाप नक्शा सर्वेक्षणको काम गर्दै आएको जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा बितरित पत्र