कुसुम थिङ, बागलुङ २०७५ बैशाख २० । बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेलले एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्श) बैकको ८९ औँ शाखा कायालयको बिहीबार उद्घाटन गरेका छन् ।
उद्घाटनका क्रममा नगरप्रमुख पौडेलले सुगम क्षेत्रमा मात्र बैंकहरु सीमित हुन नहुने भन्दै ग्रामिण क्षेत्रमा शाखा खोली दु्रत सेवा उपलव्ध गराउन अग्रसर हुनुपर्ने बताए ।
सो अवसरमा बोल्दै उनले बिजुली र इन्टरनेट सुविधा नपुगेका भेगमा स्थानीय निकायहरुसंग सहकार्य गरी अघि बढ्न बैँकलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै एनसीसी बैँकको शाखा बिस्तारल व्यवसायी तथा सर्वसाधारणलाई सहयोग पुग्ने धारणा राखेका थिए ।
विभिन्न ठाउँमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यापार व्यवसायमा टेवा पु¥याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको बैँकले जनाएको छ ।
बैंकिङ पहुँच नपुगेका नगरपालिका तथा गाउँपालिकामा ‘क’ वर्गको वाणिज्य बैंकको कम्तीमा एउटा शाखा स्थापना गर्ने सरकारको नीति अनुरूप बागलुङमा शाखा स्थापना गरेको एनसीसी बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बताए ।
बैंकका सञ्चालक समितिका अध्यक्ष न्यौपानेको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा बैँकका शाखा प्रबन्धक शिवप्रसाद बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सन्चालन बैँकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।