Sorry, that menu does not exist.
 

गुल्मी तल्लो दजाकोटकी ९१ वर्षिया चन्द्रदेवी पुनले आज बल्ल नागरिकता लिईन

प्रेम सुनार, गुल्मी २०७५ बैशाख २३ । दुरदराज गाउँको कुरा होईन सदरमुकाम तम्घास संग जोडिएको गाउँकी एक बृद्धाले ९१ बर्षको उमेरमा पहिलो पटक सदरमुकामा पाईला टेकेकी छन । त्यो पनि उनले पहिलो पटक नागरिकता बनाउनका लागि सदरमुकाम तम्घासमा पाईला टेकेकी हुन् ।

ती हुन मुसिकोट नगरपालिका वडा नम्वर ४ , साविकको वडागाउँ गाविस वडा नम्वर १ तल्लो दजाकोटकी ९१ ब्र्षिया बृद्धा चन्द्रदेवी पुन । पुनको जन्म विक्रम सम्वत १९८४ । ०२ । १ गते रहेको छ । उक्त मितिमा जन्मेकी पुनले आज आईतवार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पहिलो पटक नागरिकता लिएकी हुन् ।

नागरिकता नभए पनि तत्कालिन बडागाउँ गाविसले उनलाई बृद्ध भत्ता खुवाउँदै आएको तर अहिले मुसिकोट नगरपालिकाले नागरिकता विना बृद्ध भत्ता रोक्का गरेपछि पुन अहिले आएर नागरिकता बनाउन आएकी थिईन ।

उनले ७० वर्ष पुरा गरी २०५१ साल देखि सुरु भएको पहिलो बृद्ध भत्ता सय रुपैयाँबाट लिन सुरु गरेको उनकी छोरी डाँडाथोक निवासी एमकुमार वगालेले बताईन् । उनलाई छोरी र छोराहरुले डोराउँदै प्रशासनमा नागरिकता बनाउन ल्याएका थिए ।

अपाङ्ग र बृद्ध बृद्धा मैत्री प्रशासन भनिए पनि आज उनलाई एक देखि अर्को स्थानमा डोराउँदै हिडालेको दृश्यले ब्यवहारमा मैत्री हुन नसकेको देखाउँथ्यो । त्यस्ती बृद्ध समेतलाई डोराउँदै एक देखि अर्को स्थानमा लैजाने गरेको देखि पछि यस समाचारदाताले प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मालाई फोन गरेर ध्यानकृष्ट गराएको थियो ।

त्यस पछि शर्माले तत्काल ति बृद्धालाई तलबाट माथी आफ्नो कार्यकक्षमा कर्मचारी लिन पठाई स–सम्मान उति खैरै नागरिकता प्रदान गरी दिएका थिए । त्यस अघि झण्डै एक घण्टा सम्म कहिले यता कहिले उताको झण्झटमा परेको दुखेसो उनिहरुले गर्दै थिए ।

प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेद्धारा जारी उनको नागरिकता प्रमुख जिल्ला अधिकारी शर्माले दिदै प्रणाम समेत गरेका थिए । उनको सवै भन्दा जेठी सन्तान एमकुमारी रजालीको उमेर ६५ वर्ष भयो । त्यस पछि जन्मेका छोरा टिकाबहादुर पुन साठी वर्ष अर्की छोरी बगालेको उमेर ५५ वर्षको भयो । उनका श्रीमान खड्गबहादुर पुनको डेढ दशक अघि नै मृत्यु भएको थियो ।

किन अहिले सम्म सदरमुकाम तम्घास आमालाई ल्याउनु भएन भन्ने प्रश्नमा उनका छोरा छोरीले भन्दै थिए–‘उहाँ विरामी परे पो तम्घास ल्याउँथ्यौं , अहिले सम्म विरामी नै पर्नु भएको छैन त्यसैले अहिले नागरिकता बनाउन पहिलो पटक ल्याएका हौं । उनको गाउँ सदरमुकाम तम्घास देखि करिव १२ किलो मिटर दुरीमा पर्दछ । हिडेर करिव ३ घण्टामा त्यहाँबाट तम्घास आउन सकिन्छ । उनि बढिघाट खोलाको बाटो बुटवल भने छोरी रहेकोले गएकी छन् ।
त्यति नजिककी मान्छे समेत त्यो उमेर सम्म सदरमुकाम तम्घास पहिलो पटक देख्नुले अरु दुरदराज गाउँका बृद्ध बृद्धाहरुको अवस्था के होला ? भन्ने सवाले जिल्ला प्रशासन भित्र उठ्यो । प्रमुख जिल्ला अधिकारी शर्माले यस अघि ८० वर्ष सम्मकोलाई आफुहरुले नागरिकता पहिलो पटक दिएको पुन चाही यति वढि उमेरमा नागरिकता लिने पहिलो भएको भन्दै खुशी ब्यक्त गरे । नागरिकता त पुनले लिईन तर उनी आफैलाई नागरिकता भनेको के हो ? भन्ने थाह थिएन् ।

के हो आमा त्यो भनेर सोध्धा उनले हाँस्दै भन्दै थिईन ‘कागज हो के रे’ अहिले कहाँ आउनु भएको छ ? भनेर सोध्धा डाँडामा भन्दै थिईन । होईन के आमा यो त तम्घास हो के भन्दा ‘ होर , कहाँ ल्याए हय्’ भन्दै थिईन ।

उनलाई आफु आएको ठाउँ तम्घास हो भन्ने समेत थाह थिएन् । त्यो उमेर सम्म रुखा खोकी वाहेक थला पर्ने गरी उनि विरामी नपरेको, अझै पनि घरमा भित्र वाहिर गर्ने , नाति पलातीहरुको हेरचाह गर्ने गरेको परिवारका सदस्यले बताए ।

दुई वर्ष अघि दजाकोटमा भिषण आगोलागी हुँदा उनकको सहित ६० भन्दा बढि घर गोठ जलेर नष्ट भएका थिए । त्यहाँ देखि यता उनि डाँडाथोकस्थित छोरी वगालेको घरमा बस्दै आएकी छन् । उनिहरुको ध्वस्त घर अझै बन्न सकेको छैन् ।

यो कागज भएसी भत्ता पाईने भयो हुन्तो ? भन्दै उनि खुशी हुँदै घरतिर लागेकी छन् । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सामाजिक सुरक्षा भत्ताको विषयलाई शुद्धिकरण गर्नका लागि नागरिकता अनिवार्य गराईएकोले बृद्धा पुनलाई नागरिकता दिलाउन आफुहरुले पठाएको बताए । उनले भने यस क्रममा त्यो उमेरमा उहाँले पहिलो पटक सदरमुकाम देख्न र नागरिकता लिन पाउनु भएकोमा आफुहरुलाई खुशी लागेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply