निर्मल पौडेल, पर्वत २०७५ जेठ ३ । काली गण्डकी किनारबाट अवैधरुपमा गिटी बालुवा उत्खनन् गरी कालीगण्डकीको दोहन भैरहेकोमा ब्यापक बिरोध भैरहेको अवस्थामा अवैध रुपमा गिट्टी वालुवा चोरी निकासी गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जलजला गाउँपालिका वडा नं ३ गुफाटोल स्थित कालीगण्डकी नदीमा गिट्टी वालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ग १ क २३०८ नम्वर जे सि भि र ग १ ख ८१३५ नम्वरको टिप्परलाई प्रहरी चौकी, वारीवेनी पर्वतवाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै वुधवारनै कुस्मा नगरपालिका ११ मालढुङगा स्थित सडक खण्डको किनारमा रहेको राष्ट्रिय वन क्षेत्रमा नम्वर नखुलेको स्काईभेटर प्रयोग गरी अवैध रुपमा माटो उत्खनन गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलीले रौतहट चन्द्रनिगाहपुर १ को २५ वर्षिय राधेश्याम साहलाई नियन्त्रणमा लिएको हो ।
दुबै स्थानमा नियन्त्रणमा लिईएका टिप्पर, स्काईभेटरहरु आवश्यक अनुसन्धान पश्चात कारवाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय पर्वतमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।
अवैध रुपमा चोरी तस्करी गर्ने गुण्डागर्दी गर्ने दादागीरी देखाउने जाँडरक्सी खाएर होहल्ला गर्ने कानुन विपरीत अवैध कार्य गर्ने जो कोहीलाई कानुनको कठघारमा उभ्याएर कार्वाही गर्ने प्रनाउ घिमिरेले बताए।