डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ जेठ ३ । निसीखोला गाउँपालिका–४ कानाबगरमा तटबन्ध निर्माण कार्य सुरु भएको छ । निसीखोला गाउँपालिकाले २०७४–७५ का लागि विनियोजन गरेको बजेटले उक्त स्थानमा तटबन्ध गर्न लागिएको निर्माण कार्यका संयोजक लिला घर्ती मगरले जानकारी दिए ।
उक्त तटबन्ध कार्य २ लाख ५० हजार रुपैयाको लागतमा निर्माण गर्न लागेको घर्तीले बताए । हरेक बर्खायामको समयमा बाढीले स्थानीयहरुलाई सताउँदै आए पछि यहाँको बस्ती संरक्षरणका निम्ती यस स्थानमा तटबन्ध गर्न थालिएको हो ।
यस स्थानमा तटबन्ध कार्य सम्पन्न भए पछि करिब २० घरधुरी बाढीको जोखिमबाट मुक्त हुने छन् । तटबन्ध गर्न थाले पछि त्यस स्थानका स्थानीयहरु खुसी भएका छन् । “बर्खा सुरु भयो भने घरमा बस्न पनि डर लाग्थ्यो, अब बर्खाको समयमा बाढी आएर घर छोडेर भागाभाग त हुन्न की ” स्थानीय मकर नेपालीले भने ।
हरेक बर्खाको समयमा घर आफ्नो घर छोडेर अरुकोमा आश्रय माग्ने गरेका कानाबगर तथा झिवाखोलाबासीलाई तटबन्ध गरे पछि केही राहत मिल्ने छ ।
त्यस्तै निसीखोला गाउँपालिकाको झिवाखोला, जुग्जाखोला, देविस्थान, निसी तथा नदी आसपासका क्षेत्रहरु पनि मा तटबन्ध कार्य सुरु भएको छ ।