Sorry, that menu does not exist.
 

लेखा सम्बन्धि ज्ञान नहुँदा जिल्लाभरका विद्यालयमा १५ करोड रकम बेरुजु – पौडेल

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७५ जेठ ४ । बुर्तिबाङमा प्रध्यानाध्यापक र आर्थिक प्रशासन सम्बन्धी काम गर्ने कर्मचारीहरुका लागि आर्थिक प्रशासन र खरिद प्रकृया सम्बन्धी ३ दिने तालिम शुरु भएको छ । उत्तरगंगा माध्यमिक विद्यालयमा शिक्षा विकास तथा समन्वय इकाइ बागलुङको आयोजनामा शुरु भएको तालिममा पश्चिम बागलुङका ४ स्थानीय तहका प्रध्यानाध्यापक तथा लेखापाल गरी करिब ४० जनाको सहभागिता रहेको छ ।

तालिमकै बिचमा अनौपचारिक रुपमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख गुरुप्रसाद पौडेलले विद्यालयको आर्थिक पक्षलाई चुस्त, दुरुस्त र पारदर्शि बनाउन तालिमको आयोजना गरिएको बताए । उनले तालिममा सहभागी सबैलाई तालिमबाट सिकेका लेखा व्यवस्थापकीय ज्ञानलाई व्यवहारमा लागु गर्दै सकेसम्म विद्यालयको आर्थिक कारोबारमा हुने गरेको बेरुजुलाई न्यूनिकरण गर्न आग्रह समेत गरे ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख पौडेलले धेरै जसो विद्यालयमा प्रध्यानाध्यापकले नै सम्पूर्ण आर्थिक कारोबार हेर्नुपर्ने अवस्थाले गर्दा विद्यालयको प्रशासनिक पक्ष कमजोर भएकाले पनि तालिमले विशेष महत्व राख्ने विश्वास व्यक्त गर्दै लेखा सम्बन्धिको व्यवस्थापकीय पक्षको बारेमा ज्ञान नहुँदा जिल्लाभरका विभिन्न विद्यालयका करिब १५ करोड रकम बेरुजु रहनु दुखद पक्ष रहेको बताए ।

साथै, पौडेलले अव असार मसान्तभित्र साविकको जिल्ला शिक्षा कार्यालय तथा शिक्षा विकास तथा समन्वय इकाइबाट हुने गरेका हरेक अनुदान तथा आर्थिक सहायताका अधिकारहरु स्थानीय तहमा हस्तान्तरण हुने पनि स्पष्ट पारे ।

तालिममा उत्तरगंगा मावि श्रोतकेन्द्रका स्रोतव्यक्ति हरिचन पाण्डे, प्रभा मावि श्रोत केन्द्रका स्रोत व्यक्ति टंकनाथ शर्मा र जनजागृति मावि श्रोतकेन्द्रका स्रोत व्यक्ति बेदबहादुर बुढामगर लगायतको सहभागिता रहेको थियो ।

तालिमको आज पहिलो दिन लेखापालनका उद्देश्यहरु, आर्थिक व्यवस्थापनमा प्रध्यानाध्यापक र लेखापालको भूमिका, विद्यालयको कोष तथा संचालन तरिका, विद्यालयका बजेट तर्जुमा योजना गर्ने तरिका तथा गोश्वारा भौचरको बारेमा जानाकारी गराइएको थियो । तालिमको सहजिकरण शिक्षा विकास तथा समन्वय इकाइका लेखा अधिकृत कृष्णप्रसाद आचार्यले गरिरहेका छन ।

तालिम यहि जेष्ठ ६ गते आइतबारसम्म चल्ने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply