प्रशान्त घर्ती, बुर्तिवाङ २०७५ जेठ ६ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानमा शनिबार निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
तमानखोला गाउँपालिका पशु सेवा शाखाको आयोजना तथा जिल्ला पशु सेवा कार्यालय बागलुङको समन्वयमा सम्पन्न शिविरको उद्घाटन जिल्ला पशुसेवा कार्यालय बागलुङका बरिष्ठ पशु विकास अधिकृत डा. गोपाल गिरीले गरेका थिए ।
कार्यक्रममा अधिकृत गिरीले व्यवसायिक पशुपालनको लागि पशु स्वास्थ्य सेवा महत्वपूर्ण हुने धारणा व्यक्त गर्दै ग्रामिण इलाकाहरुमा पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाई व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न गाउँपालिकाले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।
बरिष्ठ पशु विकास अधिकृत गिरीले तमानखोला कृषि र पशुपालनको सम्भावना भएको भूमि भएकाले कृषि र पशुपालनलाई परिपूरक रुपमा विकास गर्न आवश्यक रहेको बताए । पशुसँग सम्बन्धित हरेक समस्या समाधानको लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न उनले आग्रह गरे ।
कार्यक्रमको अवसरमा जिल्ला समन्वय समितिका सदस्य झकप्रसाद विक, तमानखोला गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचन, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम र स्थानीय युवा भवानीशंकर पुनले मन्तव्य राख्दै शिविरलाई समन्वय गर्ने जिल्ला पशु सेवा कार्यालयप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष थमबहादुर रोका, २ का वडाअध्यक्ष मिनबहादुर घर्ति, बोङ्गादोभान प्रहरी चौकीका प्रमुख पदमबहादुर नेपाली, बोङ्गादोभान स्वास्थ्यचौकीका प्रमुख राजनकुमार थापा लगायत स्थानीय समाजसेवी तथा बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।
शिविरबाट १५६ घरधुरीले पशुस्वास्थ्य सम्बन्धि परामर्स सेवा लिएका छन् । पशु सेवा कार्यालयबाट खटिएका पशु स्वास्थ्यकर्मीहरुले घरपालुवा जनावरहरुको गोवर परिक्षण गरी जुकाको औषधि वितरण गरेका थिए । त्यस्तै, कुकुरहरुलाई रेबिज रोग विरुद्धको सुइ समेत लगाइएको थियो ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरको अध्यक्षता रहेको कार्यक्रम गाउँपालिकाका लेखापाल यामबहादुर थापाको स्वागत मन्तव्य र इन्जिनियरिङ साखाका प्रमुख किस्मत सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।