मृतकका परिवारलाई प्रचलित नियमानुसार अधिकतम क्षेतीपूर्ति दिलाउन पहलगर्ने सर्ब सम्मती !
बागलुङ २०७५ जेठ ६ । काठेखोला गाउपालिका- ६ बिहुँ स्थित अमर माध्यमिक बिद्यालयमा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत निशा कँडेल र गुमा कँडेल (तस्वीर) शनिवार विहान जंगलमा गै पात पस्र्यौला लिएर घर फर्किरहँदा विद्युत पोलबाट करेण्ट प्रवाह भै मृत्यु भएको घटना पश्चात उत्पन्न परिस्तिति एवं मृतकका परिवारलाई अधिकतम क्षतीपूर्ति दिलाउन पहल गर्ने लगायतका विषयमा आज जिल्ला प्रशासन कार्यालय बागलुङको संयोजनमा जनप्रतिनिधी, प्राधिकरण, प्रहरी, प्रशासन, पीडित परिवार सहितको उपस्थितिमा छलफल सम्पन्न भएको छ ।
सो छलफलमा विभिन्न ७ प्रस्तावहरु पारित गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले दिएको जानकारी अनुसार छलफलबाट पारीत प्रस्तावहरुमा एक महिना भित्र जीर्ण र उचाई नपुगेका विद्युत पोलहरु सुरक्षित एवं व्यवस्थित गर्ने, बिद्युत लाईन नजिक भएका रुखहरुलाई स्थानीयतह, जिल्ला वन कार्यालयसंग समन्वयगरी शीघ्र व्यवस्थित गर्ने, बिहुँ हटियामा २ जना कर्मचारी सहित प्राधिकरणको शाखा कार्यालय खोल्ने, ट्रान्सफर सुरक्षित गर्न आवश्यक व्यवस्था गर्ने, लापर्बाही गर्ने प्राधिकरणका कर्मचारीलाई तुरुन्त कानून बमोजिम कार्बाही गर्ने, नेपाल विद्युत प्राधिकरणका कर्मचारीको लापर्बाहीबाट घटेको घटनाका कारण दुई युवतको मृत्यु भएकोले मृतकका परिवारलाई बिद्युत प्राधिकरणको प्रचलित नियमानुसार अधिकतम क्षेतीपूर्ती पाउने गरी पहल गर्ने र घटनामा ज्यान गुमाएका निशा कँडेल तथा गुमा कँडेलप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै पीडित परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरिएको छ ।
छलफलमा प्रदेश ४ का सांसद ईन्द्रलाल सापकोटा, जिससका संयोजक राजेन्द्र ढुंगाना, बानपाका नगरप्रमुख जनक पौडेल, काठेखोला गाउपालिकाका अध्यक्ष अमर बहादुर थापा लगायत जनप्रतिनिधी, पीडित परिवारका सदस्यहरु लगायत प्रहरी उपरीक्षक दिपक रेग्मीको सहभागिता रहेको थियो ।
तस्वीर सौजन्य : अमर माध्यमिक बिद्यालय, बिहुँ ।