Sorry, that menu does not exist.
 

आफु माथि लगाएको मिथ्या आरोपको खण्डन गर्दै कुँवरले भने, चरित्र हत्या गर्ने दुष्प्रयास !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७५ जेठ ६ । बुर्तिबाङ स्थित उत्तरगंगा माध्यमिक विद्यालयका भूत पुर्व प्रध्यानाध्यापक धनबहादुर कुँवरले आज प्रेस विज्ञप्ती जारी गर्दै केही शिक्षक संगठनहरुबाट निराधार आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै विज्ञप्ती जारी गरेका छन् । आफु माथि लगाएको मिथ्या आरोपको खण्डन गर्दै कुँवरले आफ्नो चरित्र हत्या गर्ने दुष्प्रयास भनेका छन् !

पुर्व प्रध्यानाध्यापक कुँवरले जारी गरको विज्ञप्तीमा गत बैशाख २९ गते ढोरपाटन नगरपालिका स्तरीय दुइ शिक्षक संगठनहरु एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनबाट संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउदै विज्ञप्तीमा उत्तरगंगा माविको आन्तरिक मामिला र आर्थिक पक्षको बारेमा कत्ति पनि जानाकारी नलिइकन आफ्नो पदको मर्यादा समेत भुलेर सीमित शिक्षक संगठनहरुले आरोप लगाएकोप्रति आपत्ति जनाएका छन् ।

शिक्षक संगठनहरुव्दारा प्रकाशित भएको विज्ञप्तीमा उल्लेख भए अनुसार आफुले विद्यालयको रु. ३४ लाख बेरुजु तिर्नुपर्ने भएकाले अवकास हुने समयमा इश्वरी प्रसाद पौडेललाई निमित्त प्र.अ. नदिएको भन्ने आरोप सरासर निराधार भएको कुवरले विज्ञप्तीमा उल्लेख गरेका छन् । विद्यालयको रकम कसैले तिर्नुपर्ने प्रमाणित भएमा विद्यालय प्रशासनको जिम्मा लिने व्यक्ति, विद्यालय व्यवस्थापन समिति वा कसैले पनि ढाकछोप गर्न नसक्ने र रकम जो कसैबाट बेरुजु वा भ्रष्टचार भएमा कारबाही गर्ने निकाय अरु नै हुने र बिनाआधार कसैको बदनाम गर्न नपाइने विज्ञप्तीमा उल्लेख छ ।

बरु बिबादित निमित्त प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेलले विद्यालयको सामाजिक परीक्षण सम्बन्धी निर्देशिका—२०६५ को आधार नमानी विद्यालयको आन्तरिक कोषबाट आफुखुसी लेखा परिक्षकलाई पैसा दिएर कसैले थाहा नपाउने गरी गरेको लेखा परिक्षणले कुनै अर्थ नराख्ने पनि विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा गत मंसिर ११ गते आफ्नो अनिवार्य अवकास हुने भएपछि सर्वोच्चबाट मुद्दा हारिसकेका, विद्यालयको नियमित हरहिसाब नबुझाउने, प्रशासनले तोकेको शैक्षिक गतिविधिमा संलग्न नहुने, विद्यालयमा आन्तरिक द्वन्द्व सिर्जना गर्ने व्यक्तिले विद्यालय प्रशासन हाँक्न नसक्ने महसूस गर्दै र शिक्षा ऐन बमोजिम पनि शिक्षा विषयमा स्नातकोत्तर नगरेको व्यक्ति प्रअ हुन नसक्ने भएकाले अर्का शिक्षक निमबहादुर जिसी नविनलाई निप्रअको जिम्मेवारी दिएको उनले उल्लेख गरेका छन् ।

विद्यालयको निप्रअ नियुक्तिको विषयमा गत बैशाख २० गते सर्वोच्च अदालतले जारी गरेको आदेश ढोरपाटन नगरपालिका लगायत देशैभरका स्थानीय सरकार र सरोकारवालाहरुको लागि ऐन कानुनको निर्माण र प्रयोग गर्ने सम्बन्धमा सिकाइएको पाठ भएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ— उक्त आदेशको सवैले कदर गर्नु र कार्यन्वयन गर्नु हामी सबैको कर्तव्य हो ।

साथै विज्ञप्तीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुँराबहादुर कुँवरप्रति भएको हातपात तथा गाली गलौजप्रति पनि आफ्नो ध्यानाकर्षण भएको उल्लेख छ ।

उत्तरगंगा माध्यमिक विद्यालयको निमित्त प्रअ बिबाद पछिल्लो समय झन पेचिलो बन्दै गएको छ । विभिन्न विद्यार्थी संगठनहरु तथा शिक्षक संगठनहरुले एकपछि अर्को गर्दै निप्रअ नियुक्ति प्रकरणमा नगरपालिकाको निर्णयप्रति समर्थन र बिरोधमा विज्ञप्ती जारी गरिरहेका छन् ।

उक्त विद्यालयमा आर्थिक बर्ष २०६५/०६६ यता लेखा परिक्षण हुन सकिरहेको छैन । निकै पहिले देखि नै प्रअ बिबादमा अल्झेको यस विद्यालयको प्रअ बिबादको मुद्दा वि.स. २०६७ कार्तिक २४ गते सबोच्चमा पुगेको थियो । त्यसको केही बर्षपछि वि.स. २०७२ को पौष १३ गतेको सर्बोच्चको फैसलाले २०५५ देखि जिम्मेवारी सम्हाल्नुभएको धनबहादुर कुँवरलाई नै प्रअको रुपमा फैसला गरेको थियो ।

एकाएक ढोरपाटन नगरपालिकाले विद्यालयका अर्का शिक्षक इश्वरीप्रसाद पौडेललाई निप्रअमा नियुक्त गरेपछि बिबादले पुनः जटिल रुप लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply