भरत सापकोटा, बागलुङ २०७५ जेठ १० । गत शनिवार काठेखोला गाउँपालिका ६ बिहुँकोटमा विद्युत पोलबाट जमीनमा करेण्ट प्रवाह हुँदा स्थानीय अमर माध्यमिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत दुई जना छात्राहरुको मृत्यु भएको दुखद एवं हृदयविदारक घटना पश्चात उत्पन्न गम्भीर परिस्थितिको समाधानको क्रममा नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बागलुङका प्रमुख कपिल राज पाण्डेले गरेको प्रतिवद्धतालाई पूर्णता दिने क्रममा बुधबार काठेखोला गाउपालिका ६ साबिक बिहुँ गाविसको गाविस भवनमा प्राधिकरणको शाखा कार्यालय स्थापना गरी २ जना कर्मचारीको व्यवस्था गरिएको छ भने ट्रान्स्फर्मरलाई बच्चाहरुले छुन नसक्नेगरी माथी सारिएको छ ।
घटनाका दिन स्थानीयहरुले प्रस्ताव गरेका मागहरु मध्ये विद्युतीय हाईटेन्सन तथा शाखा पोलबाट हुनेगरेका त्रुटि जीर्ण हुदै गरेका ढल्न लागेका पोल र पोलहरुका वरपर रहेका बोटबिरुवाहरु र त्यसबाट हुने ख़तरालाई न्युनिकरण गर्नका लागि रुख फडानी समेत गर्न माँग राखेका थिए । ती मागहरुलाई बिद्युत प्राधिकरण बागलुङका इलेक्ट्रोनिक सुपरभाईजर हरि सुनार सहित ५ जना प्राबिधिकको टोलीले प्रभावित क्षेत्रमा काम गरिरहेको प्राधिकरण बागलुङका प्रमुख पाण्डेले जानकारी दिए ।
काठेखोला ५ बिहुँकोट पोखरामा रहेको ट्रान्सफरमर बालबालिका समेत छुने ठाउँ रहेकाले त्यो ट्रान्सफरमरलाई सुरक्षित स्थानमा स्थानांतरण गरिएको इलेक्ट्रोनिक सुपरवाईजर हरि सुनारले जानकारी दिईएका छन् । अन्य कामहरुपनि निकट भविष्यमा सम्पन्न गरिने प्राधिकरणले जनाएको छ ।