डम्मर बुढा मगर बागलुङ (बुर्तिबाङ), २०७५ जेठ १३ । तमानखोला गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ को हालसम्म ८० प्रतिशत काम पुरा भएको तामानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताएका छन् ।
यस वर्ष आफुहरुको अनुभव सङ्गाल्ने समय भए पनि आफुहरुले विभिन्न विकासका निर्माणहरु गरी जनतालाई केही हदसम्म विकासको अनुभव गराउन आफुहरु सफल भएको उनको भनाई छ ।
यो वर्ष यस गाउँपालिकामा २ करोड भन्दा बढीको लागतमा मोटर बाटोको ट्रयाक खोलेको बताउँदै उनले खानेपानीको अभाव स्थान तामानखोला गाउँपालिका–६ नर्जाखानीमा १ घर १ धारो निर्माण गरेको बताए ।
त्यस्तै खानानेपानीको चरम अभाव रहेको अन्य स्थानहरुमा १५ लाखको लागतमा खानेपानीको टंकी निर्माण गरेको जानकारी दिँदै अध्यक्ष बुढाले यस क्षेत्रमा शुद्ध खानेपानीको पहुँचदेखि कसैलाई पनि टाढा हुन नदिन आफुहरुले योजना बनाई रहेको बताए ।
बुढाले भने “ हामी जनप्रतिनिधी भएको एक वर्षमा यस क्षेत्रको विकासको निम्ती जनता सामु पुगी उनीहरुको समस्यालाई बुझेर विकास निर्माणको कार्यलाई अगाडी बढाएका छौ ।”
“तमानखोलामा मोटर बाटोको अत्यन्त आवश्यक रहेको हुँदा हामीले यसै वर्ष बोङ्गादोभानदेखि तमान, खुङ्खानीदेखि थासपुरी, बोङ्गादोभानदेखि खोलेस्बाङ तथा अन्य ग्रामिण क्षेत्रहरुलाई सडक संजालले जोडेका छौ ।” बुढा मगरले भने ।
विषेश गरी तामानखोला गाउँपालिकामा बाल विवाह रोक्नका लागि आफु धेरै लागि परेको र यस वर्ष २ बाल विवाहीत जोडीलाई छुटाए र आ–आफ्नो घरमा राखेको बताए । अहिले ती बाल विवाहीत जोडी विद्यालय गई पढ्न थालेको बुढा मगरले बताए ।
बाल विवाहको रोक थामको लागि आफुहरुले गाउँ–गाउँमा जनचेतना मुलक कार्यक्रम गरि रहेको बताउँदै उनले यसको न्युनिकरणमा ठुलो पहल गरि रहेको बताए ।