प्रशान्त घर्ति मगर, बुर्तिबाङ, २०७५ जेठ १७ । सामुदायिक रेडियो परिवर्तनले आफ्नो ७ औँ बार्षिक उत्सवको अवसर पारेर बुर्तिबाङ बजार क्षेत्रमा आज ट्राफिक सचेतना सम्बन्धी होर्डिङ बोर्ड राखेको छ । ईलाका प्रहरी कार्यालय, बुर्तिबाङसँगको समन्वयमा बजार क्षेत्रका विभिन्न ६० स्थानमा होर्डिङ बोर्ड राखेको रेडियोका अध्यक्ष निमलाल पाण्डेले जानाकारी दिए ।
बजार क्षेत्र, बिद्यालय क्षेत्र, चोक तथा अस्पताल क्षेत्रलाई प्राथमिकता दिएर होर्डिङ बोर्ड राखिएको हो । चालक तथा पैदल यात्रुहरुमा ट्राफिक नियमसम्बन्धी पर्याप्त ज्ञान नहुँदा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको समयमा राखिएको होर्डिङ बोर्डले ट्राफिक गतिविधीलाई व्यवस्थापन गर्न सहयोग पुग्ने इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक नारायाण शर्माले बताउनुभयो । साथै, उहाँले बजार क्षेत्रमा चालकहरुले अनावश्यक हर्न बजाउँदा ध्वनि प्रदुषण बढेकाले ध्वनि प्रदुषण न्यूनीकरणमा पनि सहयोग पुग्ने अपेक्षा गरे ।
होर्डिङ बोर्ड राख्ने अभियानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी नायब निरीक्षक नारायण शर्मा सहितको प्रहरी तथा ट्राफिक प्रहरीको टोली र रेडियो परिवर्तनका सञ्चालनक समितीका पदाधिकारीहरु तथा रेडियोका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
यसैबीच, सामुदायिक रेडियो परिवर्तनले विभिन्न रचनात्मक र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सँगै आफ्नो सातौँ बार्षिक उत्सव सम्पन्न गरेको छ । गणतन्त्र दिवशको अवसर पारेर रेडियोले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका विरामीहरुका लागि फलफूल वितरण तथा उत्तरगंगा माध्यमिक विद्यालयमा रहेको अपाङ्गता भएका बालबालिका रहने छात्रबासमा खाद्यन्न वितरण गरेको थियो ।
२०६८ सालमा स्थापना भएको यस रेडियोले स्थापना कालदेखिनै समाजिक उत्तरदायित्वसँग जोडिएर हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । रेडियोले आफ्नो बार्षिकोत्सव कार्यक्रमसँगै, भूकम्प, बाढी, पहिरो तथा आगलागीबाट पीडित बनेका नागरिकका लागि खाद्यन्न वितरण, विरामीहरुलाई फलफूल वितरण, प्राथमिक स्वास्थ्य केन्द्रका प्रसुति शल्यक्रिया गर्ने महिलाहरुका लागि रगत अभाव नहोस भनेर ब्लड ग्रुपिङ तथा रक्तदान गर्दै आएको छ ।
त्यस्तै, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम, विभिन्न सन्दर्भमा मिडिया र जनताको सम्बन्ध स्थापित गर्न अन्तरक्रिया कार्यक्रम, स्थानीय कला तथा प्रतिभा पहिचानका लागि परिवर्तन तारा लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
फोटोः डम्मर बुढा मगर