गुुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ १८ । गल्कोटको मुख्य बजार पछिल्लो समय अव्यवस्थित पार्किङले कुरुप बन्दै गएको छ । यसले हटिया बजारको सुन्दरता बिग्रनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । हटियाको लोकतन्त्र चोकदेखि गणतन्त्र चोक सडक खण्डमा सवारीहरु तीब्र गतिले दौडिन्छन् तर त्यहाँ नै ट्याक्टर, ट्रकबाट व्यापारिक सामानहरु अनलोड बढी हुने गर्छ । आज हटियाको लोकतन्त्र चोक देखि केहि माथी लोकमार्गको छेउमा घण्टौं लगाएर सामान लोड अनलोड गरियो तर पनि सम्बन्धित निकायको ध्यान गएन ।
यस्तै, हटियाको जिपपार्क, देखि क्यापसचोक, सँगै गणतन्त्र चोक सडकमा पनि सवारीको चापले थेगिनसक्नु छ । कसैले मिलाएरै पार्किङ गरेपनि कसैले २–३ वटा सवारी साधनको पछाडि पनि सवारी साधन राखेको दृश्य देख्न सकिन्छ ।
हटियाको जिपपार्क, क्यापसरोड, बसपार्क, लोकतनत्र चोक, गणतन्त्र चोक निकै भीडभाड हुने क्षेत्र हो । अहिले सो सडक खण्डमा लोडअनलोड गर्ने समय तालिका छैन । ट्राफिक नियमअनुसार सडकमा कुनै पनि सवारी साधन पार्किङ गर्न पाइँदैन । नगर क्षेत्रका सडकमा जथाभावी पार्किङ गर्दा विकसित मुलुकहरुमा नगरपालिकाले कार्वाहि गर्ने गर्दछ । जतिबेला मन लाग्यो त्यतिबेला लोड, अनलोड हुन्छ ।
मोटरसाइकल, निजी ट्याक्सी, ट्रक, ट्याक्टर, जिप, कार लगायत सवारी साधन पार्किङले गर्दा फराकिलो सडकसमेत साँघुरिएको छ । जथाभावी पार्किङ हुँदा सवारी आगमनमा समेत अवरोध हुने गरेको छ । अव्यवस्थित पाकिर्ङले सर्वसाधारणको आवागमनमा समेत कठिनाइ हुने गरेको छ । गल्कोटको हटियामा सवारी साधनको चाप बढेपनि पार्किङ गर्ने व्यवस्थित ठाउ नहुँदा समस्या हुने गरेको स्थानियको भनाई छ । व्यवस्थित पार्किङ नभएको भन्दै यातायात व्यवसायीहरूले हटिया बजार क्षेत्रको सडक छेउछाउमा सवारी साधन पार्किङ गर्न थालेपछि समस्या हुन थालेको हो ।
यातायात व्यवसायीको जथाभाबी पार्किङले गल्कोटका स्थानीयलाई आवतजावत गर्न समस्या हुन थालेको छ भने दुर्घटनाको जोखिम समेत बढाएको छ । गल्कोटमा धौलागीरी यातयात बस ब्यवसायी समिती, धौलागीरी जिप ब्यवसायी समिति, गल्कोट यातयात प्रालि लगायतका कुनै पनि समितिको पार्किङ क्षेत्र छैन । दैनिक सयौको संख्यामा सवारी साधन आवतजावत गर्ने हटियामा पार्किङको ब्यवस्थापन समयमै नगर्ने हो भने साना, ठुला दुर्घटना हुन सक्ने देखिएको छ । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको गलकोटबासीको भनाई छ ।