Sorry, that menu does not exist.
 

सहकारीलाई विकासको मुख्य साझेदारका रुपमा ग्रहण गर्न सञ्चालक जिसीको आग्रह

बागलुङ, २०७५ जेठ २० । समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी माध्यममार्फत स्थानीय स्रोतको अधिकतम परिचालन गर्नू पर्नेमा बागलुङको बलेवामा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटास्थित कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको २ दिने सहकारी शिक्षा कार्यक्रमको शनिवार आयोजित समापन कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

समृद्धिका लागि स्थानीय स्रोतको पहिचान, उत्पादन, प्रशोधन र बजारीकरण आवश्यक छ, त्यसका लागि सहकारी माध्यम प्रभावकारी हुने भन्दै सहभागीहरुले सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन पर्नेमा जोड दिए ।

सहकारीले विपन्न वर्गका जनता, महिला तथा विकासको मुल प्रवाहबाट पछि परेका जनताको आर्थिक अवस्था माथि उठाउन, उनीहरुलाई वित्तीय रुपमा साक्षर बनाउन, आयआर्जन बढाउन, वचत गर्न सिकाउनुका साथै समाजमा मिलेर काम गर्न पर्छ भन्ने भावनाको समेत विकास गराएको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्रमा रहेको रकमलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगाउने वातावरण राज्यले निर्माण गर्नु पर्नेमा जोड दिए । सहकारी, अर्थतन्त्रको एउटा आधार स्तम्भ हो भनेर संविधानमा लेख्ने तर व्यवहारमा सहकारीलाई कही कतै सम्बोधन समेत नगर्ने परिपाटीको अन्त्य गरी विकासको मुख्य साझेदारका रुपमा सहकारीलाई ग्रहण गर्न आग्रह गरे ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १३ का वडा सदस्यहरु एकनाथ रेग्मी र लक्ष्मी हरिजन, महिला नेतृ पवित्रा कुमारी रोका, साना किसान कृषि सहकारी संस्था पैयुपाटाका प्रवन्धक चन्द्र शर्मा, सहभागीहरुका तर्फबाट कोषाध्यक्ष सीता रेग्मी र शेयर सदस्य लक्ष्मी केसीले मन्तव्य व्यक्त गरेका थिए ।
समापन कार्यक्रम संस्थाका अध्यक्ष रितादेवी शर्माको अध्यक्षता र पूर्व अध्यक्ष राधिका कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको सहकारी शिक्षा कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमा शेयर सदस्य, सञ्चालक र कर्मचारीको काम कर्तव्य र अधिकार, सहकारीमा वचतको महत्व र वचत गर्ने तरिका लगायत सहकारीमार्फत गर्न सकिने व्यवसायिक क्रियाकलापका बारेमा सहजीकरण गरेका थिए ।

बानपा १३ पैयुपाटाका १ हजार १ सय जना महिलाहरु शेयर सदस्य रहेको संस्थामा ५० लाख शेयर रकम, ३ करोड ५० लाख वचत र ४ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक यमुना ढकालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply