Sorry, that menu does not exist.
 

दरमखोलाका असला माछाको मूल्य छोई नसक्नु, एक केजी सुकुटी माछाको मूल्य रु. ५ हजार !

बालकृष्ण सुबेदी, गल्कोट २०७५ जेठ २३ । गल्कोट भएर बग्ने दरमखोलामा पाइने ‘असला’ माछाको मूल्य छोई नसक्ने गरी आकाशिएको छ । पछिल्लो समय दरमखोलामा बढ्दो प्रदुषण, करेन्ट प्रयोग गरी माछा मार्ने चलन बढ्दै गएपछी माछा कम हुँनु अर्कोतिर यहाँका असला माछा विदेशीको रोजाईमा परेकाले माछाको मूल्य ह्वात्तै बढेर ५ हजार नाघ्न थालेको व्यवसायीहरु बताउँछन् । विदेश पठाउनका लागि पहिलेनै अर्डर लिएर माछा मार्ने गरेका स्थानीय जलारीहरुले माछा सुकाएर विदेश पठाउने गरेका छन् ।

मिठा असला माछा पाइने दरमखोलामा अन्यत्र पाइने माछा भन्दा बढी स्वादिष्ट हुने भएपछि यस खोलाका माछा जापान, अमेरिका, बेलायत लगायत युरोपेली मुलुकहरुमा ‘कोशेली’को रुपमा पठाउने प्रचलन बढेको गलकोट होटल व्यवसायी संघका अध्यक्ष कौशिला घर्तीले ईबागलुङलाई बताईन् ।

खोलामा माछा कम पाइने र पाइएका माछापनि सिधै विदेश जाने भएपछि दरमखोलाको असला माछा खानकै लागि गल्कोट आउनेहरुलाई पु-याउँदै धौ–धौ हुने गरेको घर्तीले बताईन् । ‘पहिले पहिले दरमखोलामा माछा प्रशस्तै पाइन्थ्यो, गल्कोटको चिनारीकै रुपमा रहेको असला माछा खानका लागि टाढा टाढाबाट मानिसहरु आउँथे, त्यसैले हाटेल व्यवसाय राम्रोसँग फस्टाएको थियो, अहिले माछा विदेश पठाउने परिपाटीका कारण महंगो मूल्य तिरेर माछा खान आउनेहरुलाई पनि पु¥याउन सकेका छैनौं ।’ घर्तीले भनिन् ।

आलो माछा प्रति केजी रु ७ सयदेखि १ हजार रुपैयाँसम्म पर्ने गरेकोमा सुकेको माछाको मूल्य ५ हजार भन्दा बढी पुगेको स्थानीय जलारी नविन काउचाले बताए । आफू लगायत अहिलेपनि दरमखोलामा २०–२५ जना युवाहरुले माछा मारेरै जीविकोपार्जन गर्ने गरेको काउचाको भनाई थियो । आफूले मारेका माछा मध्य अधिकांश विदेशमा र केही सीमित मात्र गल्कोट क्षेत्रका होटल व्यवसायीहरुलाई बिक्री गर्ने गरेको उनिहरुले बताए ।

गल्कोट क्षेत्रबाट जापान, अमेरिका, बेलायत लगायत युरोपका विभिन्न मुलुकमा धेरै युवाहरु रोजगारीका लागि गएकाले पनि सुकेको माछा त्यहाँ पठाउने गरेको जलारीहरुको भनाई छ । ‘अहिले जापान लगायतका मूलुकमा गल्कोटे युवाहरुका सयौं होटल तथा रेष्टुरेन्टहरु छन्, यहाँ महंगोमा खरिद गरेर लैजाने माछा त्यहाँको रेष्टुरेन्टमा बिक्री गर्ने गरेका छन् ।’ जलारी काउचाले भने ।

मध्यपहाडी लोकमार्ग अन्र्तगत बुर्तिवाङदेखि बागलुङ बजारसम्म नियमित रुपमा यातायात सञ्चालन भएपछि खोलाको माछा स्वदेशी बजारमा पनि बढी मात्रामा खपत हुने गरेको होटल व्यवसायीको भनाई छ । ‘सडक नचल्दा आलो माछा बिक्री गर्ने गल्कोट क्षेत्रका बजार मात्र थिए, अहिले सडक सञ्चालनमा आएपछि पुर्व पश्चिमका मानिसहरुले पनि माछा खरिद गरेर लैजाने गरेका छन् ।’ स्थानीय होटल व्यवसायी पुष्प शेरचन भन्छिन् ।

व्यवसायीहरुले माछाका लागि प्रख्यात मानिएको दरमखोलामा माछा कम पाइनु गल्कोट क्षेत्रका लागि दुःखको कुरा भएको उल्लेख गर्दे खोलामा अनियमित तरिकाले करेन्ट तथा विषादी प्रयोगलाई रोक्नका लागि स्थानीय प्रशासनले पनि पहल गर्नुपर्ने माग गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply