डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ जेठ ३० । विगत ३ वर्षदेखि ढोरपाटन नगरपालिका–३ सामाका देव बहादुर परियार सडकको छेउमा सानो झुपडी बारेर बस्दै आएका छन् । २०७२ बैशाख २९ गतेको महा भूकम्पले घर भत्किएको र काम गरेर खाने बारी समेत वर्षातको समयमा पहिरोले बगाए पछि उनी आफ्नो परिवारलाई लिएर सडकको छेउमा आएर बस्न बाध्य परेको बताउँछन् ।
उनले बुर्तिबाङ बजारदेखि केही पर बुर्तिबाङ–तमान सडक खण्डको छेउमा सानो झुप्रो बारेर बस्दै आएका छन् । उनको घर अत्यन्तै जोखिम स्थानमा रहेको छ । घरको माथी पट्टी ओडार र छेउमै सडक हुँदा ढुङ्गा पल्टेर च्याप्न सक्ने संभावना छ ।
यहाँ बाहेक अरु कुनै स्थानमा आफुहरु बस्नको लागि उचित बास स्थान नभएकाले ओडर मुनी आएर बस्न परेको बताए । उनीहरुको घरबारी भूकम्प र पहिरोले बगाएर घरबारी बिहीन हुँदा उनीहरुलाई अहिलेसम्म कुनै पनि निकायले सहयोग नगरेको परियारको भनाई छ ।
चुनावको समयमा आएर नानाथरी आश्वासन बाढ्ने नेताहरुले आफु जितेर कुर्सी पाए पछि फर्केर नहेरेको उनको गुनासो छ । परियारको ५ जनाको परिवार रहेकोमा छोरा विदेश गएको र बुहारी सुत्केरी अवस्थामा रहेकी छन् ।
मैले दिउसो भरी गिट्टी कुटेर बेच्छु, श्रीमानले मादल बनाएर बेचेर बिहान बेलुकीको छाक टार्छौँ उनकी श्रीमतीले भनिन् । भूकम्प तथा बाढी पहिरो पीडितले राहत पाउँछन् भन्ने सुने पनि आफुहरुको यस्तो अवस्थामा कसैले सहयोग नगररेको उनले बताइन् ।
पहुँच पुग्ने भुकम्प पीडितले सरकारले वितरण गरेको पहिलो तथा दोस्रो किस्ताको समेत राहत पाएर घर थडाए भने केहीको हालत देब बहादुर परियारको जस्तै छ ।