बागलुङ २०७५ असार ५ । बागलुङ जिल्ला प्रशासन कार्यालयमा आज भएको सरोकारवालाहरुको बैठकले सवारी दुर्घटना न्यूनीकरण गर्न कडाईका साथ प्रस्तुत हुने निर्णय गरेको छ । जिल्लामा सवारी साधानहरुको चाप बढदै गएको, सडक साघुरो भएको, सवारी सन्चालनमा असुविधाका साथै सडकमा हिँड्ने यात्रुहरुको सुरक्षालाई मध्यनगर गर्दै बैठकले सवारी दुर्घटना नियन्त्रण गर्न तत्काल पहल गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपेक रेग्मी, सडक डिभिजनका प्रमुख थालेन्द्र खत्री, जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रनानि छबबहादुर जीसी, यातायात कार्यालयका शाअ देबबहादुर थापा, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ सहभागी भएको बैठकले जिल्ला भित्र सवारी दुर्घटना न्यूनिकरणका साथै ध्वनि प्रदुषण कमगर्ने लगायतका निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले जानकारी दिए ।
सदरमुकाम बागलुङ बजारको व्यस्त एवं साँघुरा सडकहरुमा जुनसुकै समय मालबाहक ठुला ट्रकहरु प्रवेशगरी सडक अवरुद्ध गराई घण्टौँ सम्म माल अनलोड गर्ने र ठुला साना सवारी साधनहरुले आम सर्वसाधारण एवं बालबालिका जेष्ठ नागरिकहरुको कानकै जाली फुट्ने गरी ठुलो आवाजमा हर्न बजाउने प्रचनल बढी रहेको अवस्थामा यस्तो निर्णय बाहिर आएको हो ।
आजको बैठकले बिना लाईसेन्स सवारी साधन चलाउन नदिने, हेल्मेट नलगाई तीब्र गतिमा सवारी चलाउन नदिने, निजी सवारी साधनहरुले भाडामा यात्रुहरु ओसार पसार गर्न रोक लगाउने, ध्वनि प्रदुषण नियन्त्रण गर्न ध्वनि नियन्त्रण गर्न लगाउने, सडकका खाल्डा खुल्डीहरु मरम्मत गर्ने आदि निर्णय गरेको छ । जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबै निकायहरुले आआफनो कार्यक्षेत्र र अधिकार भित्र रहेर प्रभावकारी रुपमा काम गर्न बैठकले आग्रह पनि गरेको छ ।
बागलुङ नगर क्षेत्रमा लाईसेन्स नभएका सिकारुहरुले तीब्रगतीमा जथाभावी मोटरसाईकल स्कूटी चलाउदा दुर्घटनाको सम्भावना उच्च भएकोले यस्लाई नियन्त्रण गर्ने बैठकले निर्णय गरेको प्रशासकीय अधिकृत पन्तले बताए ।
बैठकले बर्षाको समयमा पहिरोको कारण हुने सडक अवरुद्धलाई हटाउन र सहज रुपमा सवारी गुडने गरी व्यवस्थापन मिलाउने जिम्मा सडक डिभिजनलाई दिने बैठकले निर्णय गरेको छ ।
तस्वीर- अर्जुन ढकाल, जिल्ला प्रशासन कार्यालय बागलुङ ।