केशव वि.क/ मुस्ताङ २०७३ फागुन १४ । मुस्ताङको सदरमुकाम जोमसोम स्थित पुथाङ एयरपोर्टमा शुक्रवार राति अज्ञात समुहव्दारा पार्किङ गरिएका बस तोडफोड भएका छन् ।
धौलागिरी यातायात बस व्यवसायी संचालक समितिको बा ३ ख ९६७४ नम्बरको घोडाघोडी डिलक्स, ग १ ख ५७४९ नम्बरको रोडवेज ट्राभल्स र म्याग्दी जीप तथा बस व्यवसायी समितिको ना ५ ख १०३९ नम्बरको जेनिका एक्सप्रेस बस तोडफोड भएको हो ।
सो समुहले बसको अगाडीको मुख्य सिसा फुटाएको छ । म्याग्दी जीप तथा बस व्यवसायी समितिका अनुसार बस तोडफोड हुँदा करिब एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको बताईएको छ ।
कसले घटना घटाएको हो त्यसको छानविन भैरहेकाले छिट्टै नै सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्ने प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए ।
धौलागिरी यातायात बस व्यवसायी संचालक समितिले गत माघ ५ गते देखि मुस्ताङबाट देशका विभिन्न स्थानमा यातायात सेवा प्रवाह गरिरहेको र म्याग्दी जीप तथा बस व्यवसायी समितिले आफ्नो छुट्टै काउण्टर स्थापना गरी सेवा संचालन गर्न लागिरहेको अवस्थामा तोडफोडको घटना घटेको हो ।
उता नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली सहितका नेताहरु चढेको जीप शुक्रवार दुर्घटना भएको छ ।
बागलुङको बुर्तिबाङबाट बोबाङतर्फ जादै गरेको ध.१ ख ८१ नम्बरको जीप शुक्रवार बिहान पौने १२ बजे अधिकारीचौर गाविस वडा न. ९ साराखेतमा दुर्घटना भएको हो । ब्रेक फेल भएका कारण जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जीप एक्कासी सडकबाट भित्तातर्फ ठोक्एिर सडकमै पल्टिएको थियो । जीप पल्टिदा एमाले बैकल्पिक केन्द्रीय सदस्य गोविन्दबहादुर नेपाली, बागलुङ जिल्ला कमिटिका उपसचिव विष्णु भुषाल, जिल्ला सदस्यहरु रुद्र पौडेल, केशर छन्त्याल र बीरबहादुर विक तथा स्थानीयवासी सहित १२ जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा परेका मध्ये एमाले जिल्ला उपसचिव विष्णु भुषाल र जिल्ला सदस्य केशर छन्त्यालको बुर्तिबाङमा सामान्य उपचार भएको छ । अन्यको अवस्था सामान्य रहेको भुषालले जानकारी दिनुभयो । विदेशबाट घर फर्केका बोबाङका युवाहरुले ल्याएका सामानहरुका कारण जीप सडकबाट तल खस्न पाएन र जीपमा सवार सबै सकुशल रहेको भुषालले जानकारी दिए ।
नेकपा एमाले बोबाङ गाउँ कमिटिले शुक्रवार आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि एमाले नेताहरु त्यसतर्फ गएका थिए । दुर्घटनापछि बैकल्पिक केन्द्रीय सदस्य नेपाली, जिल्ला सदस्य पौडेल र विक कार्यक्रम स्थलमा गएको तथा भुषाल र छन्त्याल बुर्तिबाङ फर्केर उपचार गराएका थिए ।