बागलुङ, २०७५ असार ११ । जिल्लामा संचालिन एच.आईं.भि. एड्सबाट संक्रमितहरुका लागि लक्षित गरी संचालन गरिएको हेरचाह केन्द्र संचालनका लागी स्थानिय तहको सहयोग आवश्यक रहेको सरोकारवलाका भनाई रहेको छ ।
धौलागिरी पोजेटिभ समुह बागलुङको आयोजना एनएपिनको साझेदारी ग्लोबल फण्ड र सेभद चिल्ड्रेनको सहयोगमा संचालन भएको सामुदायिक हेरचाह केन्द्र संचालनका लागी अब स्थानिय तहको सहयोग आवश्यक रहेको सरोकारवलाको बैठकमा बताईएको छ । दातृ संस्थाहरु केही समयका लागी मात्र सहयोग गर्ने हुँदा यस कार्यक्रम दिगो बनाउनका लागी स्थानिय तहको सहयोग आवश्यक परेको छ ।
धौलागिरी पोजेटिभ समुह मार्फत संचालित सामुदायिक हेरचाह केन्द्रमा संक्रमितहरु आवास लिईरहेका छन ।
धौलागिरी अंचल अस्पतालमा उपचारका लागि सेवा लिन आउँदा संस्थाबाट ६० जनाले सेवा लिईरहेको संस्थाका अध्यक्ष चन्द्र बहादुर खत्रीले बताए । उनिहरुले अस्पताल र एआरटि सेन्टरमा सेवा लिन आउँदा खान बस्नको व्यवस्था हेरचाह केन्द्रले गरेको छ । हेरचाह केन्द्रका लागि सहयोगी कार्यक्रमको अवधि सकिएपछि संक्रमित लाई सेवा दिनको लागि कसरी व्यवस्थापन गर्ने भन्ने संस्थालाई चिन्ता रहेको अध्यक्ष खत्रीको भनाई छ ।
बागलुङमा १ सय ४८ जना संक्रमितहरु रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जस मध्ये बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बाट ८ जनाले नियमित औषधी लिँदै आएका छन । त्यस्तै २० जना बालबालिका संक्रमित रहेका छन । उनिहरुको शिक्षा स्वास्थ्य र खाध्यान्नको लागी कावा कार्यक्रम अन्र्तगत मासिक एकहजार रुपैया संस्थाले सहयोग गर्दै आएको छ ।
बैठकमा धौलागिरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. सागर कुमार राजभण्डारीले अबको दिनमा संस्थाको कार्यक्रम निरन्तरताको लागि स्थानिय तहबाट सहयोगको खाँचो रहेको बताए । चलिरहेको हेरचाह केन्द्र र कावा कार्यक्रमले संक्रमितको स्वास्थ्य सुधारका लागि टेवा पुग्ने भएकोले यो कार्यक्रम निकै प्रभावकारी रहेको बताईएको छ ।
केन्द्रमा संक्रमितलाई खाना,वस्नको व्यवस्थाका साथै मनोबैज्ञानिक परामर्श र जतिलता भएका संक्रमित विरामीलाई रेफरका लागि पनि केहि राहत प्रदान गरिने व्यवस्था रहेको संस्थाले जनाएको छ । बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय, बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारी, बागलुङ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास संयोजक गणेश थापा, जिल्ला जनस्वास्थ्य कार्यालयका एचआईभि फोकल पर्सन देवप्रकाश घिमिरे लगायतले आ आफ्नो धारणा राखेका थिए । संस्थाको अहिले सम्मको प्रगतिको बारेमा संस्थाका वित्त तथा कार्यक्रम अधिकृत चन्द्रकान्त आचार्यले जानकारी गराएका थिए ।