Sorry, that menu does not exist.
 

जिल्लामा वर्षातको समयमा हुनसक्ने सम्भावित बाढी पहिरोका जोखिम क्षेत्रको टोली द्वारा आँकलन !

प्रमुख जिल्ला अधिकारी खरेलको नेतृत्वमा प्राविधिक टोलीव्दारा मध्यपहाडी लोकमार्गको निरीक्षण !

बागलुङ २०७५ असार ११। मनसुनी वर्षा शुरु हुनै लाग्दा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको नेतृत्वमा मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका आयोजना प्रमुख सिनियर डिभिजन ईन्जिनियर रमेश कुमार दृष्टि तथा डिभिजन सडक कार्यालय बागलुङका डिभिजन प्रमुख सिडीई थानेश्वर खत्रीको टोलीले मध्य पहाडी लोकमार्ग बागलुङ खण्डको १३५ किमि निर्माणाधीन सडकको निरीक्षण अवलोकन गरेको छ ।

स्वयं पनि ईन्जिनियर रहेका प्रजिअ खरेल सहितको प्रविधिक टोलीले शनिवार मालढुङ्गा देखि काठेखोला, घोडाबाधे, गल्कोट, बुर्तिबाङ निसीखोला हुँदै रुकुम जिल्लाको सीमा देवीस्थान सम्मको १३५ किलोमिटर लोकमार्गको इन्जिनिरीङ दृष्टिबाट स्थलगत निरीक्षण अवलोकन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी खरेलको नेतृत्वमा गरिएको स्थलगत निरीक्षण अत्यन्तै महत्वपूर्ण र उपलव्धीमूलक भएको मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख सिनियर डिभिजन ईन्जिनियर दृष्टि र डिभिजन सडक कार्यालयका प्रमुख सिडिई खत्रीले ईबागलुङलाई बताए ।

प्रमुख जिल्ला अधिकारी खरेलको नेतृत्वमा दुई सिनियर डिभिजन ईन्जिनियरको टोलीले यसरी निरीक्षण अवलोकन गरेको पहिलो घटना भएको बताउदै यसले निर्माण कार्यमा देखिएका समस्याहरु समाधान गरी निर्माण कार्यमा तिब्रता ल्याउन उल्लेखनीय सघाउ पुगेको उनिहरुको भनाई थियो ।

अवलोकनको क्रममा प्रजिअ खरेलले मालढुङ्गादेखि अक्षेते सम्म मध्यपहाडी लोकमार्गको डाईभर्सन बनाउन बाँकी रहेको, बागलुङ बजारदेखि काठेखोला सम्म १६ वटा विजुलीको खम्बा सार्नु पर्ने, बोक्से लगायत विभिन्न स्थानमा अव्यवस्थित रुपमा रहेका बागलुङ नगर खानेपानीको पाईपहरु व्यवस्थित गराउने तथा बागलुङ सदरमुकाम देखि अक्षेते खण्डको बाटो निर्माण सुस्त भएको प्रशंग उठाउदै सम्बन्धित निर्माण व्यवसायीलाई तिव्रता ल्याउन निर्देशन दिएको बताए ।

प्रजिअ खरेलले केहि दिन पहिलेन मात्र नगर खानेपानीका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, व्यवस्थापक हिमाल शर्मा बानपा ३ र ४ क वडा अध्यक्षा क्रमश लक्ष्मी बाँस्कोटा र ध्रुवबहादुर केसी खानेपानी डिभिजनका प्रमुख ईन्जिनियर शेखर चन्द्र केसी उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतका उपस्थितिमा पाइपलाइनको समस्या ७ दिनभित्र समाधान गराउने, खानेपानी समितिले रु ३३ लाखको पेश्की फर्छौट गराउने लगायतका कार्य गर्ने निर्णय भएको जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख सिडिई दृष्टिलाई ईबागलुङले ‘लोकमार्ग कै मुहानमा रहेको सडकको यस्तो बेहाल किन ?’ भन्ने जिज्ञासा राख्दा उनले भने, ‘बागलुङ नगर खानेपानीको पाईप लाईन व्यवस्थित नगरिनु र विद्युत पोलहरु सडकबाट नहटाईएकाले सडकको यो खण्ड निर्माण हुन नसकेको हो ।’

उनले बागलुङ नगर खानेपानी उपभोक्ता समितिलाई पाईप लाईन व्यवस्थित गर्न रु ३३ लाख रुपयाँ दिएको बताउदै अहिले सम्म काम नभएको र दिईएको रकमको हिसाब पनि फस्र्यौट नगरिएको बताए ।

मध्यपहाडी लोकमार्गको १३५ किलो मिटर मध्य हालसम्म कति किलो मिटर कालो पत्रे भएको छ र यो योजना कहिले सम्म सम्पन्न होला ? भन्ने प्रश्नामा प्रमुख दृष्टिले भने करीब ६६ किलो मिटर सडक खण्ड कालो पत्रे भएको छ आगामी वर्ष भित्र लोकमार्गको बागलुङ खण्ड निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रमुख सिडिई दृष्टिले प्रमुख जिल्ला अधिकारी खरेलको नेतृत्वमा भएको मध्यपहाडी लोकमार्गको यस निरीक्षणका क्रममा निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल लगायत जनप्रतिनिधीहरुसंग भएको छलफल एवं विचार विमर्श, लोकमार्ग निर्माणमा देखिएका समस्या समाधानमा महत्वपूर्ण सहयोग प्राप्त भएको जानकारी दिए ।

मध्यपहाडी लोकमार्गको निरीक्षण अबलोकनका क्रममा देखिएका समस्याहरु र त्यस्को समाधानमा गरेका प्रयासका बारेमा प्रजिअ खरेलको अनुभव यस्तो थियो, निरीक्षणको क्रममा घोडाबाधेमा एक व्यक्तिले घडेरी खारेर सडकमा नाली बन्द गराएको र त्यहाँबाट पहिरो गएकोले त्यस्लाई हटाउन निर्देशन दिएको बताए ।

निसीखोला क्षेत्रका सम्भावित पहिरो जोखिम लगायत उक्त खण्डको सडकबाट क्षति पुगेका निसी प्रावि, विभिन्न खानेपानी आयोजनाहरु, सिँचाइ कुलोहरु लगायत क्षतिको अवस्था अवलोकन गरिएको बताउदै प्रजिअ खरेलले झिँवाखोला इलाका प्रहरी कार्यालयको निरीक्षण पश्तात प्रहरी परिसरमा भएको स्थानीय सरोकारवाला र स्थानीय बासीसँगको परिचय तथा अन्तरक्रिया कार्यक्रममा उक्त पालिकाका सडकजन्य सबै समस्या र सम्भावनाका बारेमा छलफल गरी समाधानका उपाय खोजिएको जानकारी दिए ।

निसीखोला गाउपालिकाको झिँवाखोला क्षेत्रलाई झिम्पा जोड्ने पुल निर्माणको क्रममा कर्मचारीलाई हातपात भएको घटनालाई समाधान गरी पुल निर्माण कार्य सुचारु हुने वातावरण बनेको जानकारी दिए ।

प्रजिअ खरेको नेतृत्वको निरीक्षण टोली निसीखोला गाउँपालिका पुग्दा अध्यक्ष तारानाथ पौडेल लगायत जनप्रतिनिधी तथा स्थानीयले भव्य स्वागत गरेका थिए ।

टोलीले बुर्तिवाङ बजारमा भुजीखोला पुलको पनि टोलीले निरीक्षण गरेको थियो ।

सो टोली बागलुङ देखि रुकुम सम्मको १३५ किलोमिटर सडक खण्डका विभिन्न स्थानमा सरोकारवालाहरुको अन्तरक्रिया तथा समाधानका उपायको खोजी गर्दै वर्षातको समयमा हुनसक्ने सम्भावित बाढी पहिरोका जोखिम क्षेत्रको आकलन गर्दै स्थानीय सरकारसँग विपद्को योजना बनाउन र गरेको तयारी सम्बन्धमा अन्तरक्रिया गर्दै सोहि दिनको राती १२ बजे बागलुङ फर्केको मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख दृष्टिले बताए ।

टोली देवीस्थाल, निसी भल्कोट हुँदै पाते देउराली र पूर्वी रुकुमको भुमे गाउँपालिकासम्म पुगेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply