उपराष्ट्रपति पुनको अभिनन्दन बाहेक अन्य कार्यक्रम जारी रहने आयोजकको स्पष्टोक्ति !
कृष्ण कँडेल, बुर्तिवाङ २०७३ फागुन १५ । मगर सेवा समाज बुर्तिबाङको आयोजनामा आज उद्घाटन हुने मगर दिवसमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अस्वस्थताका कारण सहभागी नहुने भएपछी कार्यक्रमको उद्घाटन नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता तथा पूर्वमन्त्री रामबहादुर थापा बादलले गर्ने भएका छन् भने उपराष्ट्रपति पुनको लिखित सन्देश उनका स्वकिय सचिव शुकबहादुर रोकाले कार्यक्रममा पढेर सुनाउने आयोजकले बताएका छन् ।
विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा आज उद्घाटन गरि भोलीसम्म चल्ने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति पुनको नागरिक अभिनन्दन कार्यक्रमको आयोजक र नागरिक स्तरका स्थानिय संघ संस्थाले समेत भब्य तयारी गरेका थिए ।
मगर दिवसको भब्य तयारी भएको र उपराष्ट्रपति पुनको नागरिक अभिनन्दन बाहेक पुर्व निर्धारित सवै कार्यक्रम हुने मगर सेवा समाज बुर्तिवाङका अध्यक्ष अध्यक्ष थमप्रकाश पुनले जानकारी दिदै सम्पुर्ण संघ संस्था लगायत सबैलाई पुर्वनिर्धारित कार्यक्रम अनुसार नै सहभागी हुन अपिल गरेका छन् ।
आजको कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेता बादल, समाजशास्त्री डाक्टर ओम गुरुङ, बरिष्ठ पत्रकार भवानी बराल, बागलुङका पुर्व जिविस सभापती लिलबहादुर थापा, राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता खेलाडी लगायत विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने छ ।
कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्वबाट मगरको पहिचान, संस्कृति, मगर दिवसको महत्व लगायतका विषयमा सम्बोधन हुने र सो अवसरमा चार्चित कलाकारहरु, कुमार पुन, राजु परियार, तिर्सना घर्ती, जुना श्रीस, निर आले लगायतले सांगितिक, सांस्कृतिक प्रस्तुति दिने आयोजकले जनाएका छन् ।
कार्यक्रमको अवसरमा हिजो सम्पन्न ताराखेल प्रतियोगितामा मगर समाज तमान प्रथम र खुङ्खानीको नर्जाखानी समुह व्दितिय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले ४० हजार र द्वितिय हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी नेता बादल दिउसो १२ बजे हेलिकप्टर मार्फत बुर्तिबाङ आउने कार्यक्रम छ । दिउसो १ बजे कार्यक्रमको बुर्तिबाङ बसपार्कमा उद्घाटन गरिने छ । बादलको पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रले जनाएको छ ।
मगर दिवश उद्घाटन कार्यक्रमको अफिसियल मिडिया रेडियो बुर्तिबाङले प्रत्यक्ष प्रसारण गर्ने छ ।