बागलुङ, २०७५ असार २९ । पहिरोबाट परिवारका ३ जना सदस्य गुमाएका बरेङ गाउँपालिका वडा नंं १ लु्रुङका २ किशोरीहरुलाई नेपाल कम्युनिष्ट पार्टी बागलुङले आर्थिक सहयोग गरेको छ ।
असार ११ गते राति गएको पहिरोले घर पुरिदा बाबु आमा र बहिनीको निधनसंगै साहारा बिहीन बनेका अस्मिता क्षेत्री र मञ्जु क्षेत्रीलाई नेपाल कम्युनिष्ट पार्टी बागलुङले ३५ हजार रुपैया नगद सहयोग गरेको हो ।
घरमाथिबाट आएको पहिरोमा परी अस्मिता र मञ्जुका बाबा ४६ वर्षीय बिष्ण्ु बहादुर क्षेत्री, आमा ३५ वर्षीया विष्णुमाया क्षेत्री र बहिनी ५ महिनाकी सोनिया क्षेत्रीको निधन भएको थियो । पहिरोले घर पुरीदा उनीहरुको सबै सम्पत्ती नष्ट भएको र हाल काकाको घरमा बस्दै आएका छन् ।
पहिरो पीडित मञ्जु क्षेत्रीलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गोबिन्दबहादुर नेपाली लगायतका नेताहरुले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
राहत वितरण गर्न आयोजित शोक सभामा बोल्दै नेपालीले अस्मिता र मञ्जुलाई पुनस्थापनाका लागि राज्य र स्थानीय बासिन्दाको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य डा.सूर्य पाठकले पहिरोपीडित परिवारको राहत तथा पुनस्थापनाका लागि पहलकदमी गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेशसभाका सदस्य सावित्रा राना, राष्ट्रिय सहकारी बंैंकका सञ्चालक रामबहादुर जिसी, नेकपाका युवा नेता प्रदिप थापा लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेकपा बागलुङका कार्यदलका सदस्य कृष्ण पाठकको अध्यक्षता र कार्यदलका सदस्य लालबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।