प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७५ असार ३२ । तमानखोला गाउँपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा ८ ओटा बालविवाह रोकेको छ । गाउँपालिकाले यो आर्थिक बर्षको बैशाखबाट मात्र अभियान थालनी गरेको थियो । अभियान थालनी गरेको ३ महिनामा नै ८ ओटा बालविवाहका बदर गर्नु आफैमा सकरात्मक थालनी रहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।
गाउँपालिकाले खुङ्खानी, बोङ्खानी, हिले, पहिरा तथा खोलेसबाङ लगायतका स्थानमा भएका बालविवाहलाई रोकेको हो । त्यस्तै, गाउँपालिकाले छिमेकी जिल्ला तथा स्थानीय पालिकाहरुसँग जोडिएका बालविवाहलाई पनि रोकेको छ । ढोरपाटन नगरपालिका र छिमेकी जिल्ला म्याग्दीको मालिका गाउँपालिकासँग जोडिएको मुद्दालाई पनि अभिभावकलाई नै उपस्थित बनाएर किनारा लगाएको अध्यक्ष बुढामगरले बताए ।
जिल्लाको अत्यन्तै दुर्गम मानिने यस गाउँपालिकाका धेरैजसो गाउँहरुमा बालविवाहको समस्या जटिल बन्दै गएपछि गाउँपालिकाबाट नै अभियानको थालनी गरिएको न्यायिक समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष मानसरी शेरचनले बताईन् ।
बालविवाह न्यूनिकरणका लागि गाउँपालिकाले डकुमेन्ट्री पनि निर्माण गरेको छ । डकुमेन्ट्रीमा बालविवाह गरेर समस्या झेलिरहेका पुराना पुस्ताका स्थानीय बासिन्दा, बालविवाहको बारेमा सचेत बनेका विद्यार्थी तथा शिक्षक र यसबाट किशोरीहरुको स्वास्थ्यमा पर्ने नकरात्मक असरको बारेमा स्वास्थ्यकर्मीहरुको परामर्श समेटिएको छ । गाउँपालिकामा बालविवाहको मुद्दा आएपछि बालक तथा बालिका र दुवै पक्षका अभिभावकहरुलाई डकुमेन्ट्री देखाएर सचेत गराउने गरिएको उपाध्यक्ष सेरचनले बताउनुभयो । छुट्टिन नमान्ने दुवै पक्षलाई डकुमेन्ट्री देखाइसकेपछि स्वास्थ्यकर्मीहरुसँग बाट पनि परामर्श गराउने गरिएको छ ।
त्यस्तै, गाउँपालिकाले अविरल कला समूह, काठमाडौको सहजिकरणमा सडक नाटक तयार पारी गाउँपालिका विभिन्न विद्यालय र वस्तीमा प्रदर्शन गरेको छ । किशोर तथा किशोरीहरुबाट प्रस्तुत गरिएको यस्ता नाटकले अत्यन्तै सकरात्मक प्रभाव पारेको जनजागृति मावि श्रोतकेद्रका श्रोतव्यक्ति बेदबहादुर बुढाले बताए ।
गाउँपालिकाले बालविवाहको अवस्थालाई शुन्यमा पु¥याउन आगामी आर्थिक बर्षहरुमा पनि निरन्तरता दिने जनाएको छ । छिमेकी पालिकाहरुले पनि यो अभियानलाई शुरु गरेको खण्डमा वालविवाह न्यूनिकरणमा थप सहज हुने अध्यक्ष बुढामगरले बताए ।
कानुनले २० बर्षभन्दा तलको विवाहलाई बालविवाह भनेको छ । बालविवाह गर्ने दुइ पक्षमध्ये केटा वा केटी २० बर्ष भन्दा माथि भए ६ महिना जेल सजाय हुने कानुनी व्यवस्था छ ।