बागलुङ २०७५ साउन ११ । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा शुक्रबार सरकारी कार्यालयका सूचना अधिकारी तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पदाधिकारी एवं सन्चारकर्मीहरुबीच भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सूचना अधिकारीहरुले गत आर्थिक वर्षमा आ-आफ्ना कार्यालयहरुबाट सम्पादित कामहरुको विवरण प्रस्तुत गरेका थिए । प्रस्तुत विवरण प्रति सन्चारकर्मीहरुबाट राखिएका केहि जिज्ञासाहरुको सम्वन्धित अधिकारीले जवाफ दिएका थिए । सूचना अधिकारीहरु र पत्रकारहरुवीच आज आयोजना गरिएको अन्तरक्रियात्मक भेटघाटलाई महत्वपूर्ण मानिएको छ ।
कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले सूचना अधिकारीहरु तथा पत्रकारहरुवीच भेटघाटलाई निरन्तरता दिने बताउदै मासिकरुपमा पत्रकार भेटघाट गर्ने बताए ।
प्रजिअ खरेलले जिल्लामा हालै अबिरल वर्षा र बाढी पहिरोबाट पुगेको क्षतीको बारेमा जानकारी दिँदै जिल्ला विपद व्यवस्थापन समितिबाट गरिएको उद्धार, राहत वितरण, अनुगमन बारे बिस्तृत बिवरण दिएका थिए । कुनैपनि विपदका लागि आवश्यक तयारीमा समिति रहेको पनि प्रजिअ खरेल जानकारी दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले बताए ।
कार्यक्रममा प्रजिअ खरेलले उल्लेख्य कार्य गरेकोमा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल श्रीसलाई सम्मान समेत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष श्रीसले आफ्नो मन्तव्य राखेका थिए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाले भेटघाट कार्यक्रमको उद्देश्य र आश्यकता माथी प्रकाश पारेका थिए । कार्यक्रम प्रशासकीय अधिकृत धिरेन्द्र पन्तको सन्चालनमा सम्पन्न भएको थियो ।