सुमन सुनार, बुर्तिबाङ २०७५ साउन ३० । ढोरपाटन नगरपालिकाले नगरपालिकाका ३२ ओटा सामुदायिक विद्यालयमा अनुदान स्वरुप ६५ ओटा अस्थायी शिक्षकको कोटा उपलब्ध गराएको छ ।
अनुदान शिक्षकको तलब भक्तानीका लागी नगरपालिकाद्धारा यस आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरिएको कार्यक्रमका प्रमुख अतिथी एवं नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ईबागलुङलाई जानकारी दिँदै अनुदान प्राप्त गरेका विद्यालयलाई १५ दिने सूचना प्रकाशन गरी सम्वन्धीत तहको योग्यता पुगेका अध्यापन अनुमति प्राप्त शिक्षक नियुक्ति गरि नगरपालिकाको कार्यालयमा सम्पुर्ण कागजात पेश गर्न समेत निर्देशन दिइएको नगर प्रमुख नेपालीले बताए ।
नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको आधारमा शिक्षक संख्या न्युन रहेकाले नगरपालिकाबाट अनुदान स्वरुप शिक्षक उपलब्ध गराईएको छ ।
ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले जानकारी दिए । मंगलबार नगरपालिकाद्धारा आयोजित नगरपालिका स्तरिय प्रअ बैठकको अवसर पारेर सो विषयमा जनाकारी गराईएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले दिएको जानकारी अनुसार कुल ४४ सामुदायिक विद्यालय मध्य ३२ विद्यालयलाई अनुदान शिक्षक कोटा उपलब्ध गराइएको हो । जसअनुसार प्रावी तहका २३ विद्यालयमा २५ ओटा, निमावी तहका २० विद्यालयमा ३४ ओटा र मावि तहका ३ विद्यालयमा ५ ओटा अनुदान शिक्षक कोटा उपलब्ध गराईएको छ । त्यसैगरि बालविकास कक्षा सञ्चालनका लागी १४ विद्यालयमा प्रति विद्यालय एक/एक ओटा गरि १४ ओटै अनुदान कोटा उपलब्ध गराईएको छ ।
गत असार २७ गतेको नगरसभाको निर्णय अनुसार प्रावि तहका शिक्षकलाई रु ८ हजार, निमावी तहका शिक्षकलाई रु १० हजार र माबी तहका शिक्षकलाई रु १५ हजार मासिक तलव उपलब्ध गराउने अनुदान कोटा उपलब्ध गरिएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले त्यस अवसरमा जानकारी दिएका थिए ।
उत्तरगंगा माध्यमिक विद्यालय स्रोत केन्द्रका स्रोत ब्यक्ती हरिचन पाण्डेको अध्यक्षता भएको बैठकमा नगरपालिका ४४ सामुदायिक विद्यालयका प्रअहरुको उपस्थिती रहेको थियो । बैठकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागी विद्यालय भन्दा बाहिर रहेका बालबालीकालाई अनिवार्य विद्यालय भर्ना गराउने र भर्ना भएका विद्यार्थीलाई विद्यालयमा टिकाईराख्ने बाताबरणको सृजना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने, विषयगत शिक्षकको हरेक महिना भेला तथा अन्तरक्रिया गर्ने लगायतका निर्णयहरु समेत गरेको छ ।
बैठकमा ढोरपाटन नगरपालिकाका शाखा अधिकृत राम प्रसाद आचार्य, लेखा अधिकृत अमृत प्रसाद पौडेल लगायत पत्रकारहरुको विशेष उपस्थीती रहेको थियो । बैठकको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले गरेका थिए ।