सुमन जीसी, बागलुङ, २०७५ भदौ ३ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा आयोजित जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको ४ वर्षे व्यवसायीक रणनैतीक योजना तर्जुमा गोष्ठिलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले आर्थिक समृद्धिको महत्वपूर्ण औजार सहकारी भएको बताएका छन् ।
कुनै पनि संघ संस्थाहरु योजना विना गन्तव्यमा पुग्न नसकिने बताउदै खरेलले योजना निर्माण संघ संस्थाको लक्ष्य प्राप्तीका लागि अपरिहार्य भएको धारण व्यक्त गरेका थिए । देशको समृद्धिका लागि आर्थिक क्षेत्र भनेको वातावरणमा रहेको अक्सिजन जस्तै भएकाले वातावरणमा अक्सिजनको जति महत्व हुन्छ समृद्धिका लागि आर्थिक क्षेत्र त्यती नै महत्व हुने प्रजिअ खरेलको भनाई थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. का अध्यक्ष सीता शर्मा , नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख एवं तालिमका प्रशिक्षक दुर्गा प्रसाद ढकाल, नमुना सकोसका सञ्चालक एवं नेपाल शिक्षक संघ प्रदेश नं ४ का महासचिव सागर खरेल, कोत मैदान सकोसका सञ्चालक एवं जिल्ला बचत संघका संस्थापक सदस्य रामवहादुर खत्री लगाएतले आफ्ना भनाई राखेका थिए ।
जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघको रुपमा रहेको संघले आफ्नो पहिलो त्रीवर्षिय व्यवसायीक रणनैतीक योजना सम्पन्न गरी पुनं ४ वर्षिय व्यवसायीक रणनैतीक योजना २०७५–०७६ देखि ०७८–०७९ निर्माण गर्न यो गोष्ठिको आयोजना गरेको हो । गोष्ठिमा जिल्ला स्थित संघका २० वटा सदस्य संस्थाहरुबाट सहभागिता रहेको छ ।
कार्यक्रममा संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले पहिलो त्रीवर्षिय योजनामा राखेका धैरै लक्ष्यहरु संघले हाँसिल गरेको बताउदै अव बन्दै गरेको योजनामा सदस्य संस्थाहरुको संस्थागत विकास र सुदृढिकरणका लागि विशेष कार्यक्रमहरु समावेश गर्ने बताए । जिल्लामा बचत संस्थाहरुको सहकारी अभियानमा कमजोर उपस्थिती रहेको भनाई राख्दै पौडेलले संघको ४ वर्षे योजनामा बचत संस्थाहरुलाई तालिम शिक्षा तथा गोष्ठिहरु मार्फत सबल बनाउने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खरेलको सम्मानको संस्कार अन्तर्गत नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र कार्यक्रम अधिकृत भरत न्यौपानेलाई टिका तथा खादाद्धारा सम्मान गरेका थिए ।
३ दिनसम्म सञ्चालन हुने गोष्ठिको् सहजिकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र कार्यक्रम अधिकृत भरत न्यौपानेले गर्ने संघले जनाएको छ ।
कार्यक्रम संघका अध्यक्ष पौडेलको अध्यक्षता लेखा संयोजक महेन्द्रसिंह रायमाझीको स्वागत र कोषाध्यक्ष वीरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।