प्रेम सुनार, गुल्मी २०७३ फागुन २० । कुनै समय थियो प्राय धेरै विद्यालयहरुमा शिक्षकका रुपमा महिला बिरलै देख्न सकिन्थ्यो तर अहिले पछिल्लो केहि वर्षको अन्तरालमा प्राय हरेक विद्यालयहरुमा महिलाको सख्या पुरुषको भन्दा दोव्बर बढी देख्न सकिन्छ । वोर्डिङ्ग स्कुल संग प्रतिष्पर्धामा उत्रिदै आएका सदरमुकाम तम्घास भित्रका हरेक सामुदायिक विद्यालयहरुमा दोव्वर भन्दा बढि महिला शिक्षक कार्यरत रहेका छन् ।
ग्रामिण भेगका विद्यालयहरुमा पनि प्राय धेरैमा महिलाको संख्या रहेको जिल्ला शिक्षा कार्यालयले बताएको । जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालका अनुसार जिल्लाका ६० वटा संस्थागत सहित कुल ६ सय १५ वटा विद्यालय मध्ये महिला प्रधानध्यापक मात्रै १ सय २५ जना रहेका छन् ।
सहायक जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेका अनुसार २०४९ सालको शिक्षा नियमावलीमा महिला शिक्षक नियुक्तीलाई विशेष प्राथामिकतामा राखिएको थियो, तर लागु हुन सकेको थिएन । डेढ वर्ष अघि जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाले आए पछि उक्त नियमावली कडाईका साथु लागु गरे पछि यो अवधीमा सय जना भन्दा बढि महिला शिक्षकले नियुक्ती पाएका छन् ।’
त्यसो त महिला शिक्षक मात्र होईन प्राय सवै विद्यालयका कक्षा ६ देखि माथीका कक्षाहरुमा छात्र भन्दा धेरै छात्रा रहेका छन् । भनभनेको टिमुरखर्क निम्न माध्यमिक विद्यालयमा पुग्दा झण्डै ९० प्रतिशत छात्रा देखिए । कक्षा ४ सम्म वरावरी जस्तै संख्या छ । तर कक्षा ५ देखि ८ सम्म छात्रको सख्या क्रमशः ५ , ४ , ३ र २ रहन पुगेको छ भने त्यसको तेव्वर बढि छात्राहरु रहेका छन् ।
प्रधानध्यापक वीरेन्द्र केसी भन्छन्–‘ पहिलो त यहाँ गरिव दलित वस्ती रहेकोले छोरा हुर्कियो कि सके विदेश नसके भारत तिर रोजगारीका लागि पठाउने चलन छ । दोश्रो शहरमा छोरी बुहारी पढ्न पठाउँदा असुरक्षित हुने मानसिकता छ । तेश्रो सम्पन्न परिवारले छोरालाई वोर्डिङ्ग छोरीलाई सामुदायिक विद्यालय पढाउने यदाकदाले विभेद गर्ने कारणहरुले छात्राको संख्या बढेको हो । ’
अझ ग्रामिण भेगका कक्षा ११ र १२ रहेका विद्यालयहरुमा त छोरी र बुहारीको संख्या पुरुषहरुको चौगुना बढि रहेको छ । श्रृङ्गिश्वर वहुमुखी क्याम्पस रानीवास गुल्मीमा १ सय ६४ विद्यार्थी मध्ये १ सय २७ जना छोरी , वुहारीहरु विद्यार्थी रहेका छन भने छोरा मान्छेको संख्या जम्मा ३७ रहेको छ ।
हालै सम्पन्न त्यस क्याम्पसको स्ववियु निर्वाचनमा मतदान गर्ने मतदाताको पंक्तिमा छात्रको संख्या औलामा गन्ने थियो भने छात्राको पंक्ती निकै लामो थियो । महिला नै शिक्षक र महिला विद्यार्थी रहेको त्यस क्याम्पसमा महिला नै सभापतिको उमेदवार उठे विजयीे हुने ढुक्क ठानेर उमेदवारी दिएकी सुमित्रा अर्याललाई आखिर तिनै महिलाहरुले नै हराएर पुरुष पात्र किसन पाण्डेलाई विजयी बनाए ।
पाण्डे नेवि संघ र अखिल क्रान्तिकारी प्यानलबाट उमेदवारी दिएका थिए । यति धेरै महिला भएर महिलालाईनै किन हराउनु भयो त भन्ने प्रश्नमा अधिकांश महिला मतदातको जवाफ थियो–‘महिला र पुरुष भन्दा पनि विचार र काम गर्ने क्षमता ठुलो कुरा हो ।’ सभापति निर्वाचित पाण्डे प्यानल मध्येका अखिल क्रान्तिकारीका उमेदवार हुन् ।
त्यहाँ महिलाको संख्या बढि हुनुमा घर देखि टाढा शहरमा भन्दा गाउँ नजिकै हुँदा परिवारजनले सुरक्षित महसूस गर्ने , पढाई संगै छोरी वुहारीहरुले घरको काम पनि भ्याउने उनिहरुले बताए । अर्को कारण बैदेशिक रोजगारी पनि एक भएको र गाउँमा पुरुषको संख्या घढ्दै गएको उनिहरुको भनाई थियो ।
त्यस विद्यालय संग जोडिएको गाउँ वम्घाको लक्ष्मी निम्न माध्यामिक विद्यालयमा पुरै शिक्षक महिला रहेका छन् । प्रधानध्यापक मनकला पन्थ भण्डारीका अनुसार कुल ९ जना महिला शिक्षक रहेको छन् त्यस विद्यालयमा । उनले त्यस विद्यालयमा २०५३ साल देखि पढाउन थालेकी हुन् ।
प्रधानध्यापक चलाएको १६ वर्ष भई सक्यो उनले भनिन जिम्मेवारी पाए गर्न सकिदो रहेछ । वम्घा १ र २ अति सिमान्तकृत वोटे माझीहरुको वाक्लो वस्ती भएको गाउँ हो । कुल १ सय ३२ जना विद्यार्थी मध्ये ९० प्रतिशत वोटेमाझी समुदायका विद्यार्थी रहेको उनले बताईन् ।
प्रधानध्यापक भण्डारीका अलवा शिक्षिकाहरु क्रमशः शिवकला भण्डारी , सिता पाण्डे, सिता भट्टराई , लक्ष्मी भण्डारी , डुलमाया भण्डारी , मिना भण्डारी , भगवती नेपाली र रिता श्रेष्ठ सहित ९ जना महिलाले त्यस विद्यालयमा अध्यापन गराउँदैआएका हुन् । अन्य करिव एक दर्जन विद्यालयहरुमा पनि महिला नै महिला शिक्षक रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
महिलाका लागि शैक्षिक क्षेत्र उचित र सुरक्षित दुवै भएकोले अभिभावकहरु र सम्वन्धी सराकारवालाहरुले पनि शिक्षक उमेदवारीमा महिलाहरुलाई नै विशेष प्राथामिकतामा राख्ने गरेका छन् । निजी श्रोतमा अधिकांस विद्यालयमा महिलाहरु ठुलो संख्यामा रहेका छन् । यसरी महिलाले नियुक्ति पाउँदै जाँदा गुल्मीको मात्र नभई देशभरकै शैक्षिक संस्था महिलामय हुने देखिन्छ ।
तस्वीरः लक्ष्मी निमावि वम्घाका साडी र कोटमा प्रधानध्यापक भण्डारी सहित ९ जना महिला शिक्षक, नेपाल शिक्षक संघको ८ औ जिल्ला अधिवेशनमा आएका महिला शिक्षक, श्रृङ्गिश्वर वहुमुखी क्याम्पस रानीवास गुल्मीको स्ववियु निर्वाचनमा लामवद्ध छात्राहरु र टिमुरखर्क निमावि भनभनेका विद्यार्थीहरु ।