बागलुङ २०७५ भदौ ५ । जिल्ला प्रशासन कार्यालय बागलुङमा आज जिल्ला स्थित कार्यालय प्रमुखहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपालको संविधानको कार्यान्वयनको सिलसिलामा संघीय संरचनामा रहेको नेपाल सरकारका कार्यालयहरु सरकारको निर्णय बमोजिम खारेजी र समायोजन भएसँगै बागलुङ जिल्ला स्थित जिल्ला कार्यालय प्रमुखहरुले गरेको प्रशंसनीय भूमिका र कार्यको उच्च मुल्यांकन गदै धन्यवाद प्रस्ताव पारित गरिएको छ ।
सो अवसरमा विभिन्न कार्यालय प्रमुखहरुले गत साउन महिनामा कार्यालयबाट सम्पादन गरिएको कार्यहरुबारे जानकारी गराईएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खरेलले परिवर्तित सन्दर्भमा स्थापना तथा समायोजन भएका कार्यालय तथा विभिन्न निकायहरुबाट नागरिकलाई सम्मान सहित छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।
अन्तरक्रियामा नेपाली सेनाको अर्जुनवाण गणका प्रमुख सेनानी भुवनराज देवकोटा, जिल्ला प्रहरी कायालय बागलुङ प्रहरी उपरीक्षक दीपक रेग्मी, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयका प्रमुख खगेन्द्र भट्टचन, लोकसेवा कार्यालयका निर्देशक गणेश पौडेल, प्रमुख कोष नियन्त्रक राम्जी प्रसाद शर्मा, जिल्ला न्यायाधिवक्ता कार्यालयका प्रमुख धर्मराज पौडेलले सम्वन्धित विषयमा संक्षिप्त प्रकाश पारेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारको निर्देशनानुसार बालुवा उत्खनन, क्रसिङ, बिक्रीवितरण तथा क्रसर उद्योग स्थापना कार्यविधी प्रस्तुत गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।