Sorry, that menu does not exist.
 

बागलुङमा रोपाईँ नाँच : “…अहिलेको हाम्रो सीडीयो साहेब, असाद्धै दयालु …. !”

बागलुङ २०७५ भदौ १३ । बिगत केहि वर्ष यता भदौरे नाँचहरुको प्रदर्शनमा युवाहरुको सहभागिता कम रहँदै आएको भएपनि यसपाली भने युवाहरुको उत्साहबर्धक सहभागिताले दर्शकहरुलाई मनोरन्जन मिलेको अनुभूति भएको छ ।

बाईसे चौबिसे राज्यमा हालको बागलुङ बजार बागलुङ चौरको नामले पुुकारिन्थ्यो । शनैःशनैः यस चौरमा मानिसहरुको बस्ती बस्न थाल्यो । यसै अवसरमा भक्तपुरबाट नेवार समुदाय आएर यस ठाउमा बसोबास गर्न थाले । यिनै नेवार समुदायबाटै विविध सांस्कृतिक परम्पराको थालनी भयो । जनैपूर्णिमा पछि कृष्ण जन्माष्टमी सम्म गाईजात्रा महोत्सव मनाउने प्रचलनपनि नेवार समुदायबाटै भएको हो । यस पर्वमा देखाईने विभिन्न नाच, जात्राहरुमा आजभोलि केहि नाचहरुमात्र रहेका छन् ।

‘हनुमान नाच’ (बिजोर वर्षमा प्रदर्शन हुने) यद्यपि चलिआएको पुरानो र अति सम्मानित नाच हो । नाग नागिनजस्ता मीठा नाचहरुको पटाक्षेप भएको छ । पहिले पहिले, यहा कुरा गर्दछन्, बागलुङ बजारमा देखाईन लाखे नाच हेर्न टाढा–टाढा देखि मानिसहरु आउथे । तर दुःखको कुरा त्यस्तो लाखे नाचको लागि नाच्ने मान्छे अहिले यहा भेट्टाउनै गाह्रो छ ।

केहि वर्ष अघिसम्म गाईजात्राका अवसरमा बागलुङ बजारमा देखिने रमझम अहिले कम देखिन्छ । परम्परागत स्थानीय संस्कृति दुब्लाउदै गएको छ । जनैपूर्णिमा पछि कृष्ण जन्माष्टमीसम्म रोजाना देखाइने थरीथरीका जात्राहरु, नाचहरु र प्रहसनका कार्यक्रमहरु कम हुदै गएको हालको अवस्थामा यस पाली केहि सन्तोषको अवस्था देख्न पाईएको छ । यसपाली विगतको तुलनामा तायमचा, कटुवाल, रोपाई नाचहरु प्रदर्शन भएका छन् । परम्परा देखी प्रदर्शन गरिदै आएका जोगी नाँच, लाखेनाँच पनि प्रदर्शन गरिने विश्वास पलाएको छ ।

पहिले–पहिले नारायणस्थान (कृष्ण मन्दिर)बाट एक टोली र टक्सारबाट एक टोली गरी गाईजात्रामा नाच निकालिन्थ्योे, खेताल्नीलाई नाचमा पठाईदिन नाचको एक दिन पहिले सिंगारिएका हास्य कलाकारहरु (कटुवाल) ले घोक हाल्ने र बजारका सडकहरु हिलाउने प्रचलन रहि आएको छ । रोपाईँ नाँचका खेताल्नीहरु (महिला भेषभूषामा युवाहरु) केटा हुन् कि केटी भन्ने ठम्याउन गाह्रो पर्छ । बाउसे हुने ठिटाहरु र खेताल्नीहरुले गाएको दोहोरी गीतका भाका र भाव धीतमर्दा हुन्छन । तर केहि वर्षको अन्तरालपछी आज प्रदर्शित रोपाई नाँचले आशाको किरण देखाएको छ । आज प्रदर्शित रोपाई नाँचमा पाका व्यक्तित्वहरुको सहभागिताले पाहुनापासाहरुलाई निकै राम्रो सन्तुष्टि मिलेको अनुभव गरिएको छ । बाउँसे र खेताल्नीहरुले “…अहिलेको हाम्रो सीडियो साहेब असाद्धै दयालु…” भनेर गाउँदा सबै अतिथीहरु मख्ख देखिन्थे ।
रोपार्इँ नाँचमा यसरी दोहरी गाउने प्रचलन रहिआएको छ (उदाहरणको रुपमा):

बाँउसे
सानोमा सानो गाईको बाच्छो वन चर्छ चर्दैन ।
धन मेरो छैन, जीउ मेरो यै हो मन पर्छ पर्दैन ।।

खेताल्नीः
कालोमा कालो बाख्राको पाठो भैरमलाई भाकेको ।
पन्ध्रमा पुगी सोह्रमा टेकें हजुरलाई ताकेको ।।

यसपालीको भदौरे नाँच आशाको किरण लिएर आएकोमा नगरबासी सन्तुष्ट देखिएका छन् ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply